उधौली एक नेपाली पर्व हो । नेपाल संवत् अनुसार हरेक मंसिर शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइने गरिन्छ । यस वर्षको पर्व आज परेको छ । विशेषगरी किराँत समुदायले उधौली पर्व धुमधामसँग मनाउँछन् । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनको रुपमा उधौली पर्वलाई लिने गर्दछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौली अर्थात् यावा पर्व मनाइने चलन छ । किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु उगौली र उधौली हुन् । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथि भन्ने र उँधो भन्नाले तल बुझाउँदछ । ठेट नेपाली गीत अनि शब्दावलीहरुमा उँगो र उँधो शब्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगती अनि दुर्गती लगायत शुरु या अन्त्य जनाउन उँगो र उँधो शब्दको प्रयोग भएको पाइन्छ । किराँती मान्यता अनुसार हिउँद् शुरु भएलगत्तै लेकबाट वस्तुभाउ अनि चराचुरुङ्गी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा यस पर्वलाई लिइन्छ । साथै अन्नबाली भिर्याइएको खुशीयालीमा पनि यो पर्व मनाइन्छ ।
अर्कोतर्फ आजकै दिन नेवार समुदायले योमरी पुन्ही धुमधामसँग मनाउँछन् । नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले योमरी पुन्ही मनाउने गर्दछन् । यो नेवार समुदायको प्रचलित खाना योमरीसँग जोडिएको छ । योमरी दिन र रातसँग पनि जोडिएको पाइन्छ । बाहिरको चामलको सेतो र भित्रको कालो भागलाई उज्यालो र अँध्यारोको प्रतीकसमेत मानिन्छ । योमरी एक मात्र यस्तो खानेकुरा हो, जसलाई सम्पूर्ण नेवार समुदायका मानिसले एकै ठाउँमा बसेर खान्छन् । योमरी पुन्हीको दिन सबै जातका मानिस एकै ठाउँमा बसेर भोजन गर्छन् । त्यो दिन जाति र समुदायबीचमा कुनै भेदभाव गरिँदैन । योमरी सित्तैमा खाइँदैन । सबैले पैसा तिरेर खाने भएकाले त्यसबाट उठेको अधिकांश रकम समाजसेवामा खर्च गर्नुपर्ने मान्यता रहेको छ । नेपाली मौलिक संस्कृतिसँग जोडिएका यि पर्वहरुको आ–आफ्नै सांस्कृतिक महत्वसँगै सन्देश प्रवाह गरेका हुन्छ । यसर्थ यि पर्वहरुले एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सु–व्यवस्था स्थापना गर्ने सन्देश प्रवाह गर्दछन् ।

