नेपालमा हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइन्छ । ये वर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पहिलो पटक २०७० असोज १ गते विज्ञान दिवस मनाइएको थियो । विज्ञान प्रविधिको दिनानुदिन बढ्दो महत्व एवं राष्ट्र विकासमा विज्ञान तथा वैज्ञानिकहरूले पुर्याउन सक्ने योगदानलाई ध्यान दिएर नेपालमा यो दिवस मनाउन सुरु गरिएको हो । यो दिवस विज्ञान तथा प्रविधिको महत्वबारे जनचेतना फैलाउने, वैज्ञानिक प्रतिभालाई प्रोत्साहन गर्ने र अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिन प्रेरित गर्ने अवसर हो । दिवस मनाउनुको सार केवल कार्यक्रम, भाषण र औपचारिकतामा सीमित हुनु हुँदैन, यसले विज्ञानप्रतिको हाम्रो दृष्टिकोण र व्यवहारमा समेत परिवर्तन ल्याउनुपर्छ । नेपालजस्तो विकासोन्मुख देशका लागि विज्ञान र प्रविधिको भूमिका अझ महत्वपूर्ण छ ।
विज्ञान केवल प्रयोगशाला र अनुसन्धान केन्द्रमा मात्रै सीमित विषय होइन, यो आधुनिक जीवनको आधार पनि हो । सञ्चार, स्वास्थ्य, कृषि, ऊर्जा, यातायातदेखि शिक्षा र प्रविधिसम्म विज्ञानले मानव जीवनलाई सहज, सुरक्षित र समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैले विज्ञानको विकास र वैज्ञानिक सोचको विस्तार कुनै पनि राष्ट्रको प्रगतिको महत्वपूर्ण आधार हो । कृषि उत्पादन बढाउने, प्राकृतिक स्रोतको दिगो उपयोग गर्ने, स्वास्थ्य सेवा सुधार गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा रोजगारीका नयाँ अवसर सिर्जना गर्ने काममा वैज्ञानिक अनुसन्धान उपयोगी हुन सक्छ । तर अनुसन्धानका लागि पर्याप्त लगानी, आधुनिक प्रयोगशाला, दक्ष जनशक्ति र अनुसन्धानकर्तालाई उचित प्रोत्साहनको अझै आवश्यकता छ । हाम्रो शिक्षामा पनि वैज्ञानिक सोचलाई प्राथमिकता दिन जरुरी छ । विद्यार्थीलाई केवल पाठ्यपुस्तकका तथ्य कण्ठ गराउनेभन्दा प्रश्न गर्न, खोज्न, प्रयोग गर्न र समस्याको समाधान निकाल्न प्रेरित गर्नुपर्छ ।
अन्धविश्वास र गलत सूचनाको सामना गर्न पनि वैज्ञानिक चेतना आवश्यक हुन्छ । विज्ञान पढ्ने विद्यार्थी मात्र होइन, समाजका हरेक नागरिकमा प्रमाणमा आधारित सोचको विकास हुनु आजको आवश्यकता हो । सरकार, शैक्षिक संस्था, अनुसन्धान केन्द्र, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य हुन सके विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गर्न सक्छ । प्रतिभाशाली युवालाई स्वदेशमै अनुसन्धान र नवप्रवर्तनका अवसर उपलब्ध गराउनु पनि उत्तिकै आवश्यक छ । यो दिवसले विज्ञान दिवस एक दिनको उत्सव मात्र होइन, वैज्ञानिक संस्कार निर्माण गर्ने निरन्तर अभियान हो भन्ने सन्देश दिन्छ ।

