फलामजन्य औजारहरुको पूजाआज गरी विहीबार विश्वकर्मा पूजा गरिएको छ । आश्विन महिनाको कृष्णपक्षको संक्रान्ति तिथिमा पर्ने यो पर्व हरेक वर्ष असोज १ गते विश्वकर्मा बाबाको पूजा गरी मनाउने गरिन्छ । हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता भए जस्तै यसको पनि आफ्नै सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व रहेको छ ।
यस दिन विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो, यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाउने गरिन्छ । विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरेमा राम्रो हुने विश्वास छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । यो दिन प्रायः कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । विश्वकर्मा पूजा केवल धार्मिक आस्था र परम्परामा सीमित पर्व होइन, यो श्रम, सीप, प्रविधि र सिर्जनशीलताको सम्मान गर्ने महत्वपूर्ण अवसर पनि हो । हिन्दू धार्मिक मान्यताअनुसार भगवान् विश्वकर्मालाई निर्माण, वास्तुकला, शिल्प तथा प्रविधिका देवताका रूपमा श्रद्धा गरिन्छ ।
त्यसैले विशेषगरी उद्योग, कलकारखाना, निर्माण क्षेत्र, वर्कसप तथा विभिन्न प्राविधिक पेशामा संलग्न मानिसहरूले श्रद्धापूर्वक विश्वकर्मा पूजा गर्ने परम्परा रहिआएको छ । आधुनिक समाजको विकासमा श्रम र सीपको भूमिका अत्यन्त महत्वपूर्ण छ । हामीले प्रयोग गर्ने घर, पुल, सडक, सवारीसाधन, मेसिनदेखि आधुनिक प्रविधिसम्मको निर्माणमा हजारौँ श्रमिक, प्राविधिक र सीपयुक्त जनशक्तिको योगदान जोडिएको हुन्छ । तर विडम्बना के छ भने समाजले कतिपय अवस्थामा श्रम गर्ने हातलाई पर्याप्त सम्मान दिन सकेको देखिँदैन । विश्वकर्मा पूजाले यही श्रम र सीपको महत्वलाई पुनः स्मरण गराउने अवसर प्रदान गर्छ । प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ । उद्योग तथा उत्पादन क्षेत्रमा नयाँ–नयाँ मेसिन र प्रविधि भित्रिरहेका छन् । यस्तो अवस्थामा विश्वकर्मा पूजाको सन्देश अझ व्यापक बन्न आवश्यक छ । मेसिन र उपकरणको पूजा गर्नु मात्र पर्याप्त हुँदैन, ती उपकरण सञ्चालन गर्ने दक्ष जनशक्तिको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ ।

