समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकहरूको भूमिका महत्वपूर्ण हुने गर्दछ । सेवाको मुख्य अर्थ नै स्वयंसेवा हो । तर पछिल्लो समय कार्य अनि दायित्वलाई रकम अनि सुविधासँग तुलना गर्ने चलनले स्वयंसेवाको औचित्यमा कमी हुन थालेको छ । स्वयंसेवा अर्थात् आफैले निस्वार्थ सेवा गर्नु भन्ने बुझाउँदछ । स्वयंसेवा मानवताको पर्याय पनि हो । जीवनको मूल्य भनेको ब्याङ्कमा रहेको पैसा, चढ्ने गाडी, विदेश भ्रमणको सङ्ख्या अनि लगाएका बहुमूल्य वस्त्र भूषण मात्र हैन, यी सबै औसत सपना भन्दा पर एउटा निस्वार्थ समाजसेवाको भावना र स्वयंसेवकको अस्तित्व रहन्छ । समाज अझै पनि यस्ता व्यक्तिहरु छन् जुन निस्वार्थ समाज सेवामा समर्पित । तर तिनीहरुको सरकारी तवरबाट सम्मान भने हुन सकेको छैन ।
नेपाल जस्तो विविधतायुक्त, भौगोलिक जटिलता र सीमित साधनस्रोत भएको मुलुकमा स्वयंसेवकको भूमिकाले विशेष महत्व राख्ने गर्छ । विपद्को समयमा राहत वितरणदेखि रगत सङ्कलन, वातावरण संरक्षण अभियानदेखि सडकमा ट्राफिक सचेतना, बालश्रम र बालविवाहविरूद्ध अभियानदेखि अपाङ्गता अधिकार आन्दोलनसम्म हरेक क्षेत्रमा स्वयंसेवकहरु निरन्तर सक्रिय देखिएका हुन्छन् । समाज सेवामा निरन्तर खटिए पनि स्वयसेवकको सम्मानमा कसैको पनि ध्यान पुग्न सकेको छैन । यो अत्यन्त दुखको कुरा हो । स्वयंसेवा गरिरहेका व्यक्ति वा संस्थालाई हौसला बढाउन हरेक वर्ष ५ डिसेम्बरमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिन्छ । सन् १९८५ देखि संयुक्त राष्ट्रसंघको आयोजनामा हरेक वर्ष यो दिवस मनाइँदै आइएको हो । यस वर्ष नेपालमा पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट राष्ट्रिय, स्थानीय तथा समुदायस्तरमा मनाइँदै छ । हरेक वर्ष दिवस मनाइँदै आए पनि स्वयमसेवकहरुको सम्मानजन उपस्थिती हुन सकेको छैन् ।
प्रायजसो स्वयंसेवालाई हतियार बनाएर गैरसरकारी संस्था चलाउने, दातृसंस्थाबाट डलर भित्र्याउने, स्वयंसेवाकै नाममा राजनीतिक अभीष्ट पूरा गर्ने र कमाउने धन्दाकै लागि स्वयंसेवा गर्नेहरुको जमात बढी देख्न पाइन्छ । स्वयंसेवाको माध्यमबाट कतिपय विद्यालयहरुमा गरिब तथा विपन्न विद्यार्थीले पढ्न पाएका छन्, कति अस्पतालमा स्वयंसेवी रक्तदाताले रक्तदान गरेर बिरामीको जीवन बचाएका छन्, कति डाक्टरहरुले स्वयंसेवाकै कारण भगवानको उपाधि पाएका छन्, विभिन्न सामाजिक क्षेत्रमा योगदान गरेर ज्ञात–अज्ञात मानवताका पूजारीहरुले मानवसेवा गरिरहेका छन् । भोका, नाङ्गा, अपाङ्गता, असहाय, अभाव र अन्यायमा परेका मानिसहरुको हितमा सक्रिय ति स्वयसेवकहरुको सम्मान गर्न सके मात्र दिवस मनाउनुको सार्थकता रहन्छ । तसर्थ निःस्वार्थ काम गर्ने व्यक्तिहरुलाई सम्मान गरौं ।

