
– मिस्मा राना
विद्यार्थी जीवन केवल पुस्तक र परीक्षामा मात्र सीमित रहने समय होइन् । यो व्यक्तित्व विकास, सामाजिक चेतना र जिम्मेवार नागरिक बन्ने तयारीको महत्वपूर्ण चरण पनि हो । विद्यार्थी राजनीति विद्यार्थी जीवनमा उल्लेखनीय भूमिका खेल्ने एक पक्ष हो, जुन वर्तमान शैक्षिक तथा सामाजिक परिवेशमा झनै सान्दर्भिक बन्दै गएको छ ।
राजनीति सबै नीतिहरूको मूल नीति हो । जसले सबै क्षेत्रहरूको अगुवाइ गर्दछ । मानव जीवनको सुरुवातदेखि अन्त्यसम्म राजनीतिक प्रक्रिया चलिरहन्छ । जन्मेदेखि मृत्युसम्म प्रभाव पार्ने भएकाले व्यक्ति, परिवार र मानव समाज राजनीतिभन्दा अलग रहन सक्दैन । यदि कसैले आफू राजनीतिभन्दा टाढा रहेको मान्दछ भने त्यो ढोंगी हुन्छ । त्यसैले भनिन्छ, ‘तपाईं राजनीति चाहनुस् वा नचाहनुस् राजनीतिले तपाईंलाई चाहन्छ ।’ नेपालको शैक्षिक वृत्तमा पछिल्लो केही वर्षदेखि शिक्षालयलाई राजनीतिबाट अलग गर्नुपर्छ भन्ने बहस जबर्जस्त सतहमा ल्याइयो र अझै विद्यार्थी आन्दोलनको सान्दर्भिकता नै समाप्त भइसक्यो यसको अन्त्य गरिनुपर्छ भन्ने विचारहरू पनि आइरहेका छन् । तर, के यो तर्क वस्तुवादी हुन सक्दछ ? यदि मानव राजनीतिक प्राणी हो भनेर स्वीकार पनि गर्ने र उसलाई राजनीतिबाट अलग पनि गर्नुपर्दछ भन्ने मान्यता राख्ने हो भने यो कसरी सम्भव हुन्छ ? आम विद्यार्थी मात्र होइन कि सबै बौद्धिक समुदायले यसतर्फ सांकेन्द्रित बहस गर्न जरूरी छ ।
नेपाली इतिहासका अनेक घटनाक्रमहरूमा अग्रपंक्तिमा रहि परिवर्तनको चेतना छर्ने विद्यार्थी राजनीति आज आफैं अस्तित्व र प्रश्नहरूको सामना गरिरहेको छ । अहिले इतिहासको योगदान भन्दा वर्तमानको डेलिभरीको आधारमा मूल्यांकन गर्ने नेपाली समाज सामु विद्यार्थी आन्दोलनले आफ्नो सार्थकता प्रमाणित गर्नुपर्ने बाध्यता आइपरेको छ । जुनसुकै आन्दोलन तथा शक्तिले पनि समय–समयमा समाजबाट नैतिक अनुमोदन पाउनुपर्ने लोकतन्त्रको सुन्दर पक्ष पनि हो । विद्यार्थी राजनीतिले नेपाली समाजको नैतिक अनुमोदन प्राप्त गर्न अपनाउनुपर्ने एकमात्र नीति हो– प्रभावकारी पुनर्जागरण । विश्वको इतिहासदेखि वर्तमानसम्म विद्यार्थी राजनीति र विद्यार्थी संगठनहरूले ठूला क्रान्ति र परिवर्तनको नेतृत्व गरेको तथ्य छ ।
विश्व इतिहास हेर्दा सन १९९५ मा अर्जेन्टिनामा पेरुन (तत्कालीन निरंकुश शासनतन्त्र)लाई पराजित गर्ने देखि लिएर सन १८८९ मा चेकोस्लोभाकियामा ‘भेल्भेट रिभोल्युसन’ नामक शान्तिपूर्ण आन्दोलनको नेतृत्व विद्यार्थीले नै गरेको पाइन्छ । विश्वका कयौं देशहरूमा ठूला क्रान्ति र आन्दोलनहरूलाई निर्णायक बनाउनुमा विद्यार्थीहरूको अतुलनीय भूमिका रहँदैँ आएको छ । नेपालको सन्दर्भमा हेर्दा सन १९४७ मा ‘जयतु संस्कृतम्’ आन्दोलनले राणाविरुद्ध क्रान्तिको उद्घोष गरेर विद्यार्थी आन्दोलनको औपचारिक रुपमा सुरुआत गरेका थिए । त्यही आन्दोलनले नेपाल विद्यार्थी संघ र नेपालमा विद्यार्थी आन्दोलनको विजारोपण गरेको थियो ।
राजनीतिमा विद्यार्थीको सहभागिता आवश्यक
राजनीति भन्नेबित्तिकै केही मानिसले नकारात्मक दृष्टिकोण अपनाउने गर्छन् तर लोकतान्त्रिक प्रणालीमा नागरिकको सक्रिय सहभागिता अनिवार्य हुन्छ र यसको सुरुवात युवावस्थाबाटै हुनुपर्छ । विद्यार्थी राजनीति भनेको केवल नारा र जुलुस मात्र होइन, यो नेतृत्व विकासको प्रयोगशाला पनि हो । जहाँ नेतृत्व विकासले भविष्यमा आइपर्ने समस्याहरू र चुनौतीहरूको सामना गर्ने शक्ति प्रदान गर्छ । यदि विद्यार्थीमा राजनीतिक चेतना जागृत भयो र उनीहरू संगठित हुन पुगे भने विद्यार्थीको शैक्षिक मुद्दाहरू उठान गर्ने, विद्यालय प्रशासनसँग सामूहिक सौदाबाजी गर्ने, प्रशासनको एकल निर्णयमाथि प्रश्न खडा गर्ने र शैक्षिक व्यापारमा धक्का पुग्ने डरले निजी शैक्षिक कम्पनीले त सबै राजनीतिक क्रियाकलापलाई नै निषेध गरेको हुन्छ । यता, सामुदायिक शिक्षालयले समेत ‘यो तेरो राजनीति गर्ने उमेर होइन, नेता बनेर के गर्छस् ? बरु राम्रोसँग पढ् अनि जागिर गरेर पैसा कमा’ भन्ने स्कुलिङ पो गर्ने गरेको पाइन्छ । यसले विद्यार्थीमा राजनीतिप्रतिको थप वितृष्णा भर्ने काम गरेको छ । यहाँ भन्न खोजिएको सबै मानिसले राजनीति गर्नुपर्छ अथवा सबै विद्यार्थी राजनीतिक गतिविधिमा सहभागी हुनुपर्छ भन्ने होइन तर छिटो विषयवस्तु बुझ्न र त्यसलाई तत्काल ग्रहण गर्न सक्ने चरित्र वा क्षमता विद्यार्थी वर्गमा हुने भएकाले उनीहरू सबैलाई राजनीतिक चेतनाबाट अलग गर्नुहुँदैन भन्न खोजिएको हो ।
चाहे विद्यालय तहका विद्यार्थी होउन् चाहे विश्वविद्यालय तहका; यदि उनीहरूमा आफ्नो समाज कता जाँदैछ, मानव समाजको इतिहास के हो, आफ्नो परिवार र देशको स्थिति के हो, विश्व कता जाँदैछ, परिवार र समाजमा आफ्नो भूमिका के हो, राजनीतिले मानव जीवनमा के अर्थ राख्दछ भन्ने जस्ता पक्षहरूमा चासो र चिन्ता छैन भने उनीहरूले जति धेरै अंक ल्याए पनि, जति राम्रो अंग्रेजी बोले पनि समाज र राज्यको लागि के नै अर्थ राख्दछ र ? तसर्थ राजनीतिलाई शिक्षाबाट अलग गरेर होइन विद्यार्थीलाई राजनीतिक शिक्षाको अध्ययन गराउनुपर्दछ । यसले आफ्नो समाज, राज्य, देशभक्ति, नेतृत्व, राजनीतिक इतिहास जस्ता विषयहरूमा विद्यार्थीको दृष्टिकोण निर्माण गर्न सहयोग पु¥याउँदछ र राज्यको राजनीतिक भविष्यप्रति समेत चिन्तन–मनन गर्ने राजनीतिक संस्कारको विकास गराउँदछ ।
नेतृत्व निर्माणको आधारशिला
आजका विद्यार्थीहरू नै भोलिका नेता हुन् भन्ने भनाइ केवल आदर्श होइन, यथार्थ हो । विद्यार्थी राजनीतिले उनीहरूमा नेतृत्व क्षमता, निर्णय शक्ति र सार्वजनिक उत्तरदायित्वको अभ्यास गराउँछ । क्याम्पस वा विद्यालयमा हुने प्रतिनिधित्व प्रणाली, निर्वाचन, र संगठित आन्दोलनहरूले उनीहरूलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय बनाउँछ । जसले गर्दा भविष्यमा गएर देशको कानुन, नीति सम्बन्धी ज्ञान प्रदान गरी उत्तरदायित्वहरूको बोध गराउछ । राज्यका प्रशासनिक, वित्तीय, कूटनीतिक, सुरक्षा, राजनीतिक सबै क्षेत्रमा कुनै न कुनै प्रकारको नेतृत्वको त आवश्यकता नै पर्दछ, आजको राजनीति र नेतृत्व खराब भयो भन्दैमा विद्यार्थीलाई राजनीतिबाट बाहिर राख्नु त मुहानै बन्द गर्नु जस्तो हुँदैन र ?
सामाजिक चेतना र परिवर्तनको संवाहक
विद्यार्थी राजनीति सामाजिक अन्याय, भ्रष्टाचार वा शैक्षिक समस्याको विरोधमा आवाज उठाउने सशक्त माध्यम हो । इतिहासले देखाएको छ “नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि गणतन्त्र स्थापनासम्मका विभिन्न चरणमा विद्यार्थीहरूको भूमिका प्रेरणादायी रहँदै आएको छ ।”
विद्यार्थी जीवनमा राजनीतिको भूमिका
यद्यपि राजनीति विद्यार्थी जीवनको एक अङ्ग हुन सक्छ, यसले अध्ययनलाई प्रभावित गर्नु हुँदैन् । हाल केही स्थानहरूमा देखिएको अत्यधिक दलगत हस्तक्षेप, हिँसात्मक झडप, र असहिष्णु व्यवहारले विद्यार्थी राजनीतिप्रति आम मानिसको धारणा नकारात्मक बनेको छ । यस्तो प्रवृत्तिले राजनीति र शिक्षाको दुबै प्रतिष्ठामा आघात पुर्याउँछ ।
उत्तरदायी अभ्यासको बाटो विद्यार्थी राजनीतिको प्रभावलाई सकारात्मक बनाउने जिम्मा शिक्षण संस्था, राजनीतिक दल र विद्यार्थी स्वयंमा पनि पर्छ । नेतृत्व विकास, सामाजिक सहभागिता र जनचेतना अभिवृद्धिका लागि विद्यार्थी राजनीतिलाई अनुशासित, समावेशी र शिक्षामैत्री बनाइनुपर्छ ।
निष्कर्षमा :
विद्यार्थी राजनीति एउटा अवसर हो “नकारात्मक हैन” । यसको सही प्रयोगले सामाजिक रूपान्तरण, सुशासन र देशप्रेमको भावना विकास गर्न सकिन्छ । विद्यार्थी राजनीतिलाई विरोधको साटो विकासको आन्दोलन बनाउनेतर्फ हामी सबै सचेत हुनुपर्ने बेला आएको छ ।
(लेखक राना स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाकी कोषाध्यक्ष समेत हुन् ।)