
बुटवल, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बढ्दै गएको द्वन्द्वका कारण गौतम बुद्धका सन्देश महत्वपूर्ण हुँदै गएको बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबार आयोजित २५६९ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयक्रममा बुद्धको उपदेशको सान्दर्भिकता बढ्दै गएको बताएका हुन् ।
विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्धका सन्देशको सान्दर्भिकता बढ्दै गएको उनले उल्लेख गरे । बुद्ध शिक्षाको महत्व अहिले पनि व्यक्ति, परिवार र मुलुकका लागि अपरिहार्य रहेको प्रधानमन्त्री ओलीले बताए । अहिले विश्वमा आम विध्वंसका हतियार निर्माण गरिनु खतरनाक भएकाले त्यसबाट उन्मुक्तिका लागि पनि विश्व शान्तिको पक्षमा लाग्नुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले भारत–पाकिस्तान बीचको द्वन्द्व नेपालसहित अन्तरराष्ट्रिय जगतको अनुरोधपछि दुवै पक्ष संयमित भएका तथा त्यसको परिणामस्वरुप युद्ध रोकिनुका साथै क्षति हुनबाट जोगिएकामा खुसी व्यक्त गरे ।
केही दिनअघि छिमेकी मुलुक भारत र पाकिस्तानबीच तनावको स्थिति देखिएको प्रस· उल्लेख गर्दै उनले तर स्थिति त्योभन्दा बढी अघि बढ्न नपाएको र संयमताका लागि दुवै पक्षलाई धन्यवाद समेत दिए । “हामीले सुरुदेखि नै तनावको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्यौँ, उहाँहरुसँग पनि कुरा गर्यौँ । उहाँहरुले लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो”, प्रधानमन्त्री ओलीले भने । विद्यमान विश्वपरिवेशमा बुद्धको शान्तिको सन्देश जतासुकै आवश्यक रहेको उनको भनाइ थियो । शान्ति, मानवता र करूणा उपदेशलाई आत्मसात गर्दै बुद्धका सन्देश संसारभर फैलाउन आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताए । मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धका उपदेश मैत्रीभाव र करूणाको प्रवृत्ति हरेक मानिसले आत्मसात गर्न आवश्यक रहेको ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले बुद्धको शिक्षाको मुख्य उद्देश्य शान्ति, मानवतावाद र करूणा रहेको उल्लेख गर्दै बुद्वका उपदेश र आदर्श हामीले आत्मसात गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले हरेक वर्ष लुम्बिनीमा बुद्ध जयन्ती मनाउँदा हलको अभाव देखेपछि आफूले पहल गरेर ५ हजार जना अट्ने अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण गरेपनि बोलेको कसैले नसुन्ने बनेकोमा आलोचना गरे । अगाडि दर्शकले केही नसुन्ने हल बनेको उनको टिप्पणी थियो ।