
विश्व नर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । आधुनिक नर्सिङ पेसाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा प्रत्येक वर्ष विश्वभरि नै नर्स दिवस मनाइन्छ । फ्लोरेन्स नाइटिङ्गेल, जसले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सेवा प्रदान गर्नुका साथै निःस्वार्थ भावनाका साथ बिरामीहरूको सेवा गरेकी थिइन् । त्यसैले यस अवसरलाई नर्सिङ क्षेत्रमा आधुनिक र व्यावसायिक नर्सिङ सेवाको नयाँ मोड पनि मानिन्छ । उनले सन् १८६० मा लन्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिङ कलेज पनि सञ्चालन गरेकी थिइन् ।
नेपालमा नर्सहरूको पेसागत हकहित र सुरक्षाका लागि भन्दै नेपाल नर्सिङ संघ स्थापना भएपनि नेपालका नर्स अझै न्यूनतम सेवा सुविधाका लागि लड्न बाध्य छन् । नर्सिङको इतिहास नेपालमा खासै पुरानो नभए पनि अहिलेको परिपक्ष्यमा नर्सहरूको महत्व अनि विकास धेरै भइरहेको छ । नर्स बिनाको अस्पतालको परिकल्पना गर्न सकिदैन । तर पनि नर्सिङ पेसा अझै व्यवस्थित हुन सकेको छैन । नर्सलाई न्यूनतम पारिश्रमिक पाउन आन्दोलनमै होमिनुपर्ने बाध्यता छ । बिरामीको सेवामा दिनरात खट्नुपर्ने नर्स पेसाप्रति सन्तुष्ट हुन नसकेपछि अहिले विदेशिन बाध्य छन् । यो नेपालको स्वास्थ्य क्षेत्रका लागि दुखको कुरा हो । भविष्यमा आइपर्ने नर्सिङ जनशक्तिको संकटलाई रोक्न राज्यले समयमै आर्थिक सुरक्षाको प्रत्याभूति दिलाउन ढिला भइसकेको छ । नर्सको नेतृत्व गर्ने संस्था नेपाल नर्सिङ संघका पदाधिकारीहरूले दिवसको ‘सेलिब्रेसन’ गर्ने मात्र नभई उनीहरूको हकहितका लागि लड्नुपर्ने, नयाँ–नयाँ कार्यविधि तथा कार्ययोजनाहरू बनाई यस पेसामा संलग्न सम्पूर्ण कर्मचारीको हक सुरक्षित गर्नुका साथै भविष्य समेत सुनिश्चित गर्ने कार्यविधिहरू अपनाउनुपर्छ । यसो भयो भने मात्र दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।