Shittalpati
पाल्पामा पत्रकार र निजामती कर्मचारीबिच भएको मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टिम विजयी

पाल्पा, जिल्लाको तानसेनमा पत्रकार र निजामती कर्मचारीबिच मैत्रीपूर्ण फुटबल  प्रतियोगता भएको छ । २२ औं निजामती दिवसको अवसरमा तानसेनस्थित टुँडीखेल मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । 

प्रतियोगितामा कर्मचारीको टिमले जित हासिल गरेको छ । खेलमा कर्मचारीको टिम ८–० ले विजयी भएको छ । निर्धारित ६० मिनेटमा कर्मचारीले ८ गोल हान्दा पत्रकारले एक गोल पनि हान्न नसेकपछि लजास्पद हार व्यहोर्नु परेको थियो । विजेता टिमले मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ  भने उपविजेतालाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । निजामती सेवा दिवस मुल समारोह समितिको आयोजना र तानसेन नगरपालिकाको सहकार्यमा भएको प्रतियोगिताका विजेता, उपविजेता खेलाडीलाई एक औपचारिक कार्यक्रमकाबिच पुरस्कार वितरण गरिएको छ ।   

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी विनु कुँवर बज्रचार्यले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण गर्दै नगर प्रमुख श्रेष्ठले खेलकुद आफ्नो क्षमता देखाउने माध्यम भएको भन्दै हाद्र्धिकता र मित्रतालाई बलियो बनाउन यस्ता खाले प्रतियोगिता महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी बज्रचार्यले प्रतियोगितामा विजयी हुने र उपविजेता बन्ने समुहलाई बधाई ज्ञापन गर्दै कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिइन् । 

कर्मचारी र पत्रकारबिचको सम्बन्धलाई सुमधुर बनाई स्वस्थ शरिर निर्माणको लागि खेलकुदको महत्वपूर्ण भुमिका छ भन्ने सन्देश प्रवाह गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने नेपाल पत्रकार महासंङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले बताए । उनले भने“ आपसी भाइचारा वृद्धि, सम्बन्ध थप प्रगाढ बनाउन र खेल क्षेत्रको विकासको लागि समेत खेल प्रतियोगिता महत्वपूर्ण रहने हामीले विश्वास लिएका छौं ।” अध्यक्ष तिमिल्सेनाले हारलाई स्वभाविक रुपमा लिइएको बताए । प्रतियोगिता व्यवस्थापनमा खटिने प्रतिनिधि, रेफ्रि, जिल्ला फुटबल संङ्घलाई समेत सम्मान पत्रले सम्मान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी विनु कुँवर बज्राचार्यको अध्यक्षता, जिल्ला प्रशासन कार्यालयका  प्रशासकिय अधिकृत दिनेश ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो । 
 
 

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update