
तानसेन (पाल्पा), यहाँको तानसेनमा बौद्ध परम्पराअनुसार गरिने पवित्र ‘कथिन चीवर दान’ उत्सव सम्पन्न भएको छ । दाता ज्ञानमाला सङ्घ आनन्द विहारको आयोजनामा वर्षाबासमा बसेका एक जना भिक्षुसहित देशका विभिन्न स्थानबाट आएका ६० जना भिक्षुलाई कथिन चीवर दान गरी उत्सव मनाइएको हो ।
प्रत्येक वर्ष असार पूर्णिमादेखि असोज पूर्णिमा तीन महिना भिक्षुहरू वर्षाबास बस्ने परम्परा छ । यसरी वर्षाबास बसेका भिक्षुहरूका लागि कथिन चीवर दान गर्ने गरिन्छ । तानसेनका दाता विश्वमान बज्राचार्यको प्रमुख सहयोगमा कथिन दान उत्सवमा मनाइएको हो ।तानसेनस्थित ज्ञानमाला सङ्घ आनन्द विहारमा बर्खाबास बसेका भिक्षु अनिरुद्रसहित अन्य भिक्षुहरूलाई बौद्ध परम्पराअनुसार चीवर दान, अष्ट परिस्कार दान गरिएको थियो । भिक्षुले लगाउने पहेँलो वस्त्र ९चीवर० र भिक्षापात्रलाई चीवर दान भनिन्छ । अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक दाह्री–कपाल खौरने सामान, भित्री–बाहिरी कपडा, सियो–धागोलगायत आठ सामग्री हुन्छन् । अनुशासित र नियमपूर्वक तीन महिने वर्षाबास बस्ने भिक्षुलाई चीवर र भिक्षा पात्र प्रदान गरिन्छ ।
महोत्सवमा प्रमुख अतिथि अखिल नेपाल भिक्षु महासङ्घका पूर्वअध्यक्ष मैत्री महास्थवीरबाट दीप प्रज्वलनसँगै शिल प्रार्थना, भिक्षु धर्मपालबाट बुद्ध पुजा, भिक्षु गौदन्य महास्थवीरले धर्मदेशना गरेका थिए । धर्मदेशना गर्दै महास्थवीरले गौतम बुद्धको उपदेश र उनले अनुमति दिएको ‘कठिन चीवर दान’का विषयमा जानकारी गराएका थिए।पूर्वअध्यक्ष महास्थवीले कठिन उत्सव धार्मिक उत्सव भएकाले यसमा सहभागी हुँदा भिक्षुमा शिल समाधि र प्रज्ञाको विकास हुने, नागरिकमा दान, शिल र भावनाको विकास हुने जानकारी दिए । उनले एक वर्षमा एक दिन एक पटक मात्रै वर्षाबासमा बसेका भिक्षुलाई लगाउने वस्त्रसहितका सामग्री दिने परम्परा भएकाले यसलाई कठिन दान भनिएको उल्लेख गरे ।
कार्यक्रमका संयोजक एवं आनन्द विहारका पूर्वअध्यक्ष उत्पलकुमार बज्राचार्यले तीन महिना एकै ठाउँमा नियमपूर्वक वर्षाबास बसेका भिक्षुलाई बसमापनको अवसरमा ‘कथिन चीवर दान’ दिने बौद्ध परम्परा रहेकाले सोहीअनुसार चीवर दान गरिएको बताए । उनले विगतमा पनि आफूहरूले यस्ता कार्यक्रम गर्दै आएको उल्लेख गरे ।विहारका अध्यक्ष सञ्जयराज शाक्यले वर्षाबास बस्नाले बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए गरेका त्रुटि तथा कमी कमजोरीबाट पाप नलागी क्षमादान पाउने हुँदा भिक्षु/भिक्षुणी वर्षाबास बस्ने गरिएको बताए । उनका अनुसार असार पूर्णिमादेखि असोज पूर्णिमासम्म तीन महिना भिक्षुहरू वर्षाबास बसेका हुन।
विहारका अध्यक्ष शाक्यका अनुसार लुम्बिनी, बुटवल, भैरहवा, पोखरा, धरान, थाइल्याण्ड, भारत, अछामबाट भिक्षुहरू वर्षाबासका लागि तानसेन आएका हुन् । दान गर्नुअघि भीमसेन टोलमा रहेको विहारबाट झाँकीसहित शान्ति पदयात्रा निकालिएको थियो । उक्त पदयात्रा टुँडिखेल, तेस्रो सडक, शीतलपाटी, टक्सारटोल, नारायणस्थान हुँदै टुँडिखेलमा पुगेर महोत्सवमा परिणत भएको भिक्षु प्रियदर्शी महास्थवीरले बताए ।