
काभ्रेपलाञ्चोक, यही असोज १८ र १९ गतेको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी राजमार्गमा पैदल यात्रासमेत कष्टकर बन्न पुगेको छ ।
उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा बाढीपहिरोले सडक बगाउँदा यातायातका साधन रोकिएपछि तीन दिनदेखि गन्तव्यमा पुग्नुपर्ने खोलाको तिर, खोलैखोला र भिरपाखाबाट हिँड्नुपर्ने बाध्यता बनेको हो । वर्षाका कारण राजमार्गको भकुन्डे–नेपालथोक सडकखण्डको विभिन्न स्थानमा क्षति पुगेपछि पूर्ण रुपमा अवरुद्ध भएको हो । राजमार्गको चौकीडाँडा हुँदै काभ्रेपलाञ्चोकको डाँडापारिलगायत स्थानबाट दसैँ मनाउन घर गएकाहरु ग्रामीण सडकसमेत अवरुद्ध हुँदा घण्टौँ हिँडेर आ–आफ्ना गन्तव्यतर्फ लागिरहेका छन् । यही सडक भएर जिल्लाको नमोबुद्ध नगरपालिका तथा रोशी, तेमाल, महाभारत, खानीखोला गाउँपालिका र सिन्धुलीको सुनकोशी र घ्याङलेक गाउँपालिकाका स्थानीय हातगोडा टेकेर कष्टकर यात्रा गर्न बाध्य भएका छन् । राजमार्गको धुलिखेलदेखि चौकीडाँडासम्म भने यातायातका साधन चलेका छन् ।
चौकीडाँडा आइपुग्न नै निकै कठिन भएको पैदल यात्री बताउँछन् । “हातगोडा टेकेर चौकीडाँडा आएर गाडी चढियो”, मङ्गलबार बनेपा आइपुग्नुभएका भिमखोरीका राजेन्द्र श्रेष्ठले भने । उनका अनुसार सडकको नामोनिशान नभएको स्थानमा भिर चढेर पार गर्नुपरेको छ । “महिला, बुढापाका र बालबालिकालाई निकै अप्ठेरो भइरहेको छ, गोरेटो बाटो बनाउन सके निकै राहत मिल्नेछ”, श्रेष्ठले भने । केही सुरक्षाकर्मीले सहयोग गरे पनि हिँड्दा ध्यान नपु¥याए खोलामा खस्नेसमेत डर भएको श्रेष्ठको भनाइ छ ।उक्त राजमार्गमा लामो दूरीका यात्रुले वैकल्पिक मार्ग प्रयोग गरे पनि काभ्रेपलाञ्चोक तथा छिमेकी जिल्ला रामेछाप र सिन्धुलीको जोडिएका स्थानीय तहका यात्रुलाई भने चौकीडाँडासम्मै पैदल हिँड्नुपर्ने बाध्यता बनेको हो । पैदलै हिँड्न पनि ठाउँठाउँमा रोशी खोला तर्नुपर्ने अर्को बाध्यता रहेको छ ।
स्थानीय प्रहरीका अनुसार तीन दिनमा करिब दुई हजार यात्रु यहाँबाट पैदल हिँडेका छन् । सुरक्षाकर्मीले बिरामीलाई स्टेचरमा राखेर चौकीडाँडासम्म ल्याउने गरेका छन् ।जिल्ला ट्राफिक कार्यालयका अनुसार राजमार्गको चौकीडाँडा–नेपालथोक सडकखण्डको २० किलोमिटर बाटो पूर्णरुपमा बन्द छ । बढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्याएको हो । क्षतिग्रस्त राजमार्गमा पुनः अस्थायी सडक-डाइभर्सन बनाउन सुरु गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलाको हाव कम हुँदै गएपछि मङ्गलबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।