
हरेक वर्ष अक्टोबर १३ का दिन विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ देखि यस दिवसलाई मनाउन सुरु गरेको हो । यसको उद्देश्य प्राकृतिक तथा मानवसिर्जित विपद्बाट हुने क्षति न्यून पार्न, जनचेतना फैलाउन र दीगो विकासका लक्ष्यसँग विपद् व्यवस्थापनलाई जोड्ने हो । यस वर्षको नाराले पनि समुदायको सहकार्य, जिम्मेवारी र जोखिमको पूर्व तयारीलाई मुख्य सन्देश दिएको छ । नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा विपद्को जोखिम उच्च छ । भूकम्प, बाढी, पहिरो, डुवान, सुख्खा, आगलागी जस्ता प्रकोपहरू बारम्बार दोहोरिने गरेका छन् । जलवायु परिवर्तनले यी विपद्का रूप अझ जटिल बनाइरहेको छ । हरेक वर्ष हजारौँ नागरिक प्रभावित हुन्छन्, अर्बौँको सम्पत्ति नष्ट हुन्छ । तर, दुःखद कुरा के छ भने—विपद्पछि मात्र सक्रिय हुने हाम्रो परम्परा अझै परिवर्तन भएको छैन् । जोखिम न्यूनीकरण भनेको पूर्वतयारी, सचेतना, र दीगो संरचनात्मक विकास हो भन्ने कुरा अझै व्यवहारमा उतार्न सकिएको छैन ।
प्रकोप न्यूनीकरणका लागि सरकारले राष्ट्रिय नीति र कानुन निर्माण गरे पनि कार्यान्वयनको गति सुस्त छ । स्थानीय तहहरूमा दैवी प्रकोप व्यवस्थापन योजना बनाइए पनि त्यसको व्यवहारिकता सीमित छ । विद्यालय, स्वास्थ्य संस्था र समुदायस्तरमा तालिम, अभ्यास र जोखिम नक्साङ्कनमा जोड दिनु अत्यावश्यक छ । आधुनिक प्रविधिको प्रयोग, पूर्वसूचना प्रणालीको सुदृढीकरण र स्थानीय समुदायको सहभागिता नै दीगो समाधानका आधार हुन् । विपद्ले विकासलाई ध्वस्त पार्छ, तर तयारीले त्यसलाई न्यून गर्न सक्छ । त्यसैले यो दिवस केवल औपचारिकतामा होइन, चेतना र प्रतिवद्धताको अवसर हो । राज्य, समुदाय र नागरिक सबैको साझा जिम्मेवारी हो प्रकोप अघि नै सचेत, सुरक्षित र सक्षम बन्ने । तसर्थ जोखिम न्यूनीकरणको संस्कृति नै हाम्रो विकासको सुरक्षाको आधार बन्नुपर्छ ।