पाल्पा, लुम्बिनी प्रदेश सरकार स्वास्थ्यमन्त्री खेमबहादुर सारुले नेपालको संविधानले तीन सरकारको परिकल्पना गरेकोले तीन वटै सरकार आ–आफ्नो विषय बस्तुमा स्वायत्त रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाको बार्षिक साधारण सभालाई आज तानसेनमा सम्बोधन गर्दै स्वास्थ्यमन्त्री सारुले प्रदेश सरकार स्वायत्त सरकार भएकोले केन्द्रिय सरकारका सबै निर्णय मान्नुपर्छ भन्ने नरहेको बताएका हुन् । उनले भने “केन्द्र सरकारका सबै निर्यणहरु प्रदेश सरकारको लागि हुबहु लागु हुनुपर्छ भन्ने छैन, अहिले सरकारले निजी संचार माध्यम विज्ञापन नदिने भन्ने कुरा प्रदेश सरकारले कार्यान्वयन गर्दैन ।”मन्त्री सारुले विज्ञापनको विषयमा प्रदेशले छुट्टै कानुन बनाएर कार्यान्वयन गर्ने बताए । श्रावण १ गते देखी लुम्बिनी प्रदेशमा ८ वटा मात्र मन्त्रालय रहने, एउटै प्रकृतिका कार्यालयहरु संमायोजन गर्ने गरी प्रदेशको निति तथा कार्यक्रम आउने मन्त्री सारुले जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले मिडिया कमजोर भएमा लोकतन्त्र नै कमजोर हुने, गणतन्त्र प्रजातन्त्र खतरामा पर्ने, मिडिया बचाउनको लागि सबैपक्ष लाग्नु पर्नेमा जोड दिए । सरकारले सत्य, तथ्यको आधारमा आलोचना गर्ने निजी मिडियालाई धरासायी बनाएर, भजनमण्डली गर्ने सरकारी मिडियालाई मात्र पृष्टपोषण गर्नुमा निरकुंश शैलीबाट काम शुरु गरेको केन्द्रिय सदस्य पोखरेलले बताए ।कार्यक्रममा जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारी, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, पाल्पा शाखाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, सल्लाहकार कृष्ण दर्नाल, अक्षयकोषदाताको तर्फबाट लुम्बिनी मेडिकल कलेज प्रभासका कम्पनी सचिव कृष्णा पराजुली, लुम्बिनी प्रदेश सञ्चार परिषद् अध्यक्ष मिलन गाहा, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल लगायतले शुभकामना व्यक्त गर्दै आचारसंहितालाई पालना गर्दै उत्तेजना, आवेगमा भन्दा सत्य, तथ्य, बस्तुनिष्ट, पत्रकारिता गर्नु आजको आवश्यकता रहेको बताए ।
उनीहरुले स्थानीय सरकार प्रमुखहरुले पत्रकार महासंघ संग आपसी सहयोग र सहकार्य र समन्वयमा काम भईरहेको बताए । साधारणसभामा पुर्व अध्यक्षहरु मेघराज शर्मा, गोविन्द भट्टराई, झपेन्द्र गहिरे, भगवान भण्डारी, राजेश कुमार अर्याल र रेखीराम रानालाई दोषल्ला ढाकाटोपी र प्रमाणपत्रबाट सम्मान गरिएको थियो । महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष मुक्ति न्यौपानेको स्वागत र सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा भएको थियो । बन्द सत्रमा सचिव रामचन्द्र रायमाझी र कोषाध्यक्ष विजय वौडेलको आर्थिक प्रतिवेदन विभिन्न सुझाव सहित पारित भएको छ । बन्दसत्रले सरकारको विभेदकारी विज्ञापन निती खारेजको माग गर्दै विभिन्न ७ बुँदे घोषणापत्र समेत पारित गरेको छ ।


