Shittalpati
पाल्पाली होजियरी उद्योगलाई इलेक्ट्रिक फ्ल्याट मेसिन हस्तान्तरण

पाल्पा,  लुम्बिनी प्रदेश सरकारले पाल्पाली होजियरी उद्योगलाई इलेक्ट्रिक फ्ल्याट मेसिन हस्तान्तरण गरेको छ । स्वदेशी उत्पादन प्रवद्र्धन तथा होजियरी उद्योगको आधुनिकीकरण गर्ने उद्देश्यले आइतबार एक कार्यक्रमबीच प्रदेश  सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले उद्योगलाई सो मेसिन हस्तान्तरण गरेका हुन् ।

मेसिन हस्तान्तरण गर्दै मन्त्री सारुले  प्रदेश सरकारले घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यले इलेक्ट्रिक फ्ल्याट मेसिन प्रदान गरिएको बताए । उनले परम्परागत उद्योगलाई आधुनिकीकरण गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति अनुरूप प्रदेश सरकारले सहयोग गरेको उल्लेख गरे । आगामी दिनमा पनि साना तथा मझौला उद्योगलाई प्रविधिमैत्री बनाउने तथा उत्पादन वृद्धि र बजार विस्तारमा प्रदेश सरकारले सहयोग गर्ने समेत मन्त्री सारुले बताए ।

हस्तान्तरण गरिएको मेसिनले उत्पादन क्षमता वृद्धि गर्नुका साथै समय र श्रम खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको उद्योगकी अध्यक्ष भुनु बरालले बताइन् । उनले प्राप्त मेसिनले स्थानीय स्तरमा रोजगारी सिर्जना र स्वदेशी वस्तुको प्रवद्र्धनमा योगदान पुग्ने उल्लेख गरिन् ।

नेपाली होजियरी उद्योगलाई प्रतिस्पर्धी बनाउन आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको उद्योगका सल्लाहकार विष्णु बरालले बताए । उनले नयाँ मेसिनको प्रयोगबाट गुणस्तरीय उत्पादन वृद्धि भई बजार विस्तारमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।  तानसेनको म्यालधारामा उद्योग सञ्चालनमा रहेको छ । २०७९ सालमा १० जना महिला उद्यमीहरुले १०/१० हजार उठाएर सञ्चालनमा ल्याएको उद्योगले ऊनबाट बन्ने कडाइ स्वीटर, मोजा, टोपी, गलबन्दी जस्ता कपडाहरु उत्पादन गर्दै आएको छ ।  यस अघि हाते तानबाट सामानहरु उत्पादन हुँदै आएको थियो । इलेक्ट्रिक फ्ल्याट मेसिन प्राप्त भएपछि सो मेसिनबाटै काम हुने उद्योगले जनाएको  छ । यहाँ उत्पादन हुने सामानहरु पाल्पासहित छिमेकी जिल्ला, गुल्मी, रुपन्देही, स्याङ्जा, अर्घाखाँचीका पठाउने गरिन्छ । मेसिन हस्तान्तरण कार्यक्रममा उद्योगी, व्यवसायी, स्थानीय प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रम पर्यटन विभाग भैरहवाका प्रमुख नेत्र भूषालको अध्यक्षतामा कार्यक्रम भएको थियो । सोही अवसरमा उद्योगले सल्लाहकार विष्णु बराल लगायत अन्य सल्लाहकार समूहलाई सम्मान समेत गरेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update