Shittalpati
पाल्पामा वर्षाको असर : राजमार्गदेखि ग्रामीण सडकसम्म प्रभावित

पाल्पा, बुधबार रातिदेखि परेको लगातारको वर्षाले पाल्पाका विभिन्न सडकखण्डमा पहिरो खस्दा यातायात प्रभावित भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रदेखि आर्यभञ्ज्याङ–रामपुर सडकखण्डसम्म पहिरो खसेपछि सडक सञ्चालनमा चुनौती थपिएको हो ।

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रस्थित ड्याम साइडमा माथिबाट लगातार पहिरो झरिरहेको छ । सडकमा खसेको पहिरो हटाउने काम भइरहे पनि माथिबाट पुनः पहिरो खस्ने क्रम नरोकिँदा यातायात सहज रूपमा सञ्चालन गर्न समस्या भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ ।

यता, माथागढी गाउँपालिका–१ चिदीपानीस्थित आयुर्वेद औषधालय नजिक गुडिरहेको ट्रकमाथि समेत पहिरो खसेको छ। पहिरोका कारण ट्रकमा सामान्य क्षति पुगेको भए पनि मानवीय क्षति भने भएको छैन । अवरुद्ध सडक खुलाउन दुईवटा डोजर परिचालन गरिएको वडा अध्यक्ष राजकुमार पन्थीले बताए । उनका अनुसार सडकमा खसेको पहिरो हटाएर तत्काल यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । लगातारको वर्षाले जिल्लाका केही स्थानमा विद्युत् सेवा समेत प्रभावित भएको छ । तिनाउलगायत नदी तथा खोलामा पानीको बहाव बढेको छ भने ग्रामीण सडकहरूमा पहिरो खस्ने क्रमले सदरमुकामसँगको यातायात सम्पर्कसमेत प्रभावित भएको छ ।

सडक अवरुद्ध हुँदा गाउँबाट सदरमुकामतर्फ दूध, तरकारीलगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या देखिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले थप भारी वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रु तथा सवारी चालकलाई अनुरोध गरेका छन् । वर्षाका कारण खोला तथा नाला बढ्नुका साथै विभिन्न स्थानमा पहिरो खस्न सक्ने जोखिम रहेकाले सम्भावित जनधनको क्षति रोक्न जिल्लाका विभिन्न प्रहरी चौकीमा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update