Shittalpati
फार्मासिस्ट दिवसको सार्थकता

अन्तर्राष्ट्रिय औषधि महासंघ  काउन्सिलको स्थापनाको अवसरमा हरेक वर्ष आजकै दिन विश्व फार्मासिस्ट दिवस मनाइन्छ । महासंघ काउन्सिल सन् १९१२ मा स्थापना भएको थियो, त्यसपछि सन् २००९ मा टर्कीको इस्तानबुलमा भएको वल्र्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्समा अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलले यो दिवस मनाउने घोषणा गरेको थियो । सोही अनुरुप नेपालसहित विश्वभर हरेक वर्ष सेप्टेम्बर २५ मा यो दिवस मनाउने गरिन्छ । यो औषधि तथा स्वास्थ्य सेवामा फार्मासिस्टहरूको योगदानलाई स्मरण गर्ने महत्वपूर्ण अवसर हो । यो दिवस केवल फार्मासिस्टहरूलाई शुभकामना दिने दिन मात्र होइन, औषधिको सुरक्षित, प्रभावकारी र विवेकपूर्ण प्रयोगका लागि उनीहरूको भूमिकामाथि बहस गर्ने अवसर पनि हो ।

स्वस्थ रहनको लागि, स्वस्थ आहार र शारीरिक गतिविधि संग, राम्रो र उचित स्वास्थ्य सेवा पनि धेरै महत्वपूर्ण छ । बिरामीहरूलाई सही सल्लाह दिनेदेखि उनीहरूलाई सही उपचार उपलब्ध गराउन र उनीहरूलाई औषधिको उपलब्धता सुनिश्चित गर्न, फार्मासिस्टहरूले समाजमा महच्वपूर्ण भूमिका खेल्छन् । फार्मासिस्टको यो भूमिकालाई उजागर गर्ने र चिकित्सा व्यवसायीहरूलाई सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष यो  दिवस मनाइन्छ । नेपालमा पनि स्वास्थ्य सेवाको विस्तारसँगै फार्मासिस्टको भूमिका अझ व्यापक बन्दै गएको छ । अस्पताल, क्लिनिक, सामुदायिक फार्मेसी, औषधि उद्योग, अनुसन्धान तथा नियमनका क्षेत्रमा उनीहरूको संलग्नता छ । तर व्यवहारमा अझै पनि फार्मासिस्टलाई कतिपय अवस्थामा औषधि बिक्री वा वितरणसँग मात्र जोडेर हेर्ने प्रवृत्ति देखिन्छ । यस्तो संकुचित बुझाइ परिवर्तन गर्न आवश्यक छ । विशेषगरी औषधिको जथाभावी प्रयोग, चिकित्सकको सल्लाहबिना औषधि सेवन, एन्टिबायोटिकको अनावश्यक प्रयोग र औषधिको गलत भण्डारण जस्ता विषय जनस्वास्थ्यका चुनौती हुन् । यस्ता समस्याको न्यूनीकरणमा फार्मासिस्टले बिरामीलाई औषधिको सही प्रयोगबारे जानकारी दिने, सम्भावित जोखिमबारे सचेत गराउने र आवश्यक परे स्वास्थ्य संस्थामा जान सुझाव दिने काम गर्न सक्छन् ।

फार्मेसी क्षेत्रमा गुणस्तरीय सेवा सुनिश्चित गर्न दक्ष जनशक्ति, स्पष्ट मापदण्ड, प्रभावकारी अनुगमन र व्यावसायिक आचारसंहिताको कार्यान्वयन आवश्यक छ । औषधि व्यवसायलाई केवल व्यापारका रूपमा नभई प्रत्यक्ष जनस्वास्थ्यसँग जोडिएको जिम्मेवारीका रूपमा स्थापित गर्नुपर्छ । यसका लागि राज्य, स्वास्थ्य संस्था, फार्मेसी व्यवसायी र स्वयं फार्मासिस्टबीच प्रभावकारी समन्वय अपरिहार्य छ । आजको दिन फार्मासिस्टहरूको योगदानको सम्मानसँगै उनीहरूको व्यावसायिक जिम्मेवारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धताको दिन पनि बन्नुपर्छ । सुरक्षित औषधि प्रयोग, जिम्मेवार फार्मेसी सेवा र जनस्वास्थ्यप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राख्न सकिए मात्र यो दिवस मनाउनुको सार्थकता रहन्छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update