Shittalpati
तानसेन सम्पदा संरक्षण समाजको अध्यक्षमा न्यौपाने 

पाल्पा,  तानसेन सम्पदा संरक्षण समाजको  अध्यक्षमा पदमराज न्यौपाने सर्वसम्मत चयन भएका छन् । तानसेनको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको समाजको प्रथम अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गरेको हो ।

जसको निवर्तमान अध्यक्ष मनमोहन श्रेष्ठ, उपाध्यक्षमा सौन्दर्य शाक्य, सचिवमा प्रकाशनाथ गोङ्गल, सहसचिवमा नवराज बस्याल र कोषाध्यक्षमा मिथुना गोङ्गल श्रेष्ठ  चयन भएका छन् । त्यस्तै सदस्यहरूमा शकुंन्तला बज्राचार्य, शान्ति झेडी थापा, स्वस्तिका श्रेष्ठ र सुनिता श्रेष्ठ  रहेका समाजले जनाएको छ । अधिवेशनले नयाँ सदस्यता स्वीकृत गर्नुका साथै काठमाडौं संयोजकको जिम्मेवारी नवीन गोविन्द श्रेष्ठलाई दिने निर्णयसमेत अनुमोदन गरेको छ ।

अध्यक्षमा चयन भएसँगै न्यौपानेले  शितलपाटीसँगको कुराकानीमा तानसेनको इतिहास, मौलिकता, संस्कृति तथा पुराना सम्पदाको संरक्षण गर्दै तिनलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने बताए । उनले तानसेनका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको खोज, संरक्षण, अभिलेखीकरण तथा प्रवद्र्धनका लागि आवश्यक पहल गर्ने समेत प्रतिवद्धता जनाए । उनी शितलपाटी डटकम र नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकाका नियमित स्तम्भकार समेत हुन् । मनमोहन श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनले समाजको सांगठनिक तथा आर्थिक (लेखापरीक्षण) प्रतिवेदनसमेत पारित गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update