Shittalpati
गणतन्त्र दिवसको सान्दर्भिकता

नेपालमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ । यो दिन नेपाली जनताले लामो संघर्षपछि निरंकुश राजतन्त्रको अन्त्य गरी जनताको शासन व्यवस्था स्थापना गरेको ऐतिहासिक दिन हो । वि.सं. २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । त्यसयता यो दिन राष्ट्रिय गौरव र लोकतान्त्रिक उपलब्धिको प्रतिकका रूपमा मनाइँदै आइएको छ । आज पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइँदै छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट २४० वर्षे जहानिया शासनको अन्त्य गर्दै जनताको जीत भएको दिन । आज हामीले १९ औँँ गणतन्त्र दिवस मनाउँदै गर्दा विसं २००७ सालदेखिका संघर्षहरुको पुनःस्मरण गर्नुपर्ने हुन्छ ।

२०६२/६३ को जनआन्दोलनपछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको यस दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ । तर, १५ जेठको यो चरणमा नेपाली राजनीति आइपुग्नुमा ००७ सालपछि पटक–पटक भएका राजनीतिक संघर्षहरूको देन पनि उत्तिकै छ । नेपालमा गणतन्त्र स्थापनापछि समावेशी राजनीति, संघीयता, धर्मनिरपेक्षता तथा सामाजिक न्यायका विषयलाई संस्थागत गर्ने प्रयास भएका छन् । तर गणतन्त्र प्राप्त गर्नु मात्र पर्याप्त होइन, यसको सफल कार्यान्वयन अझ महत्वपूर्ण पक्ष हो । आज पनि देशमा भ्रष्टाचार, बेरोजगारी, राजनीतिक अस्थिरता, विकासको असमानता तथा सुशासनको अभावजस्ता समस्या विद्यमान छन् । जनताले अपेक्षा गरेअनुसार परिवर्तनको अनुभूति गर्न नसकेको गुनासो बढ्दै गएको छ । यसले गणतन्त्रप्रति नागरिकको विश्वास कमजोर हुने खतरा पनि देखिन्छ । त्यसैले गणतन्त्र दिवस केवल उत्सव मनाउने दिन मात्र नभई आत्मसमीक्षा गर्ने अवसर पनि हो । राजनीतिक दल, सरकार र नागरिक सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न आवश्यक छ । लोकतन्त्रलाई बलियो बनाउन सुशासन, पारदर्शिता, कानुनी शासन र जनमुखी विकासलाई प्राथमिकता दिनुपर्छ । यसो भयो भने मात्र हरेक वर्ष गणतन्त्र मनाउनुले सान्दर्भिकता रहन्छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update