Shittalpati
पाल्पामा जेसी युवाहरुलाई संसदीय प्रणाली सम्बन्धी तालिम

पाल्पा,पाल्पा जेसीजले १८ देखि ४० वर्ष उमेर समूहका युवा–युवतीहरुलाई संसदीय अभ्यास तालिम दिएको छ । युवाहरूमा नेतृत्व विकास, संसदीय प्रक्रिया तथा प्रभावकारी वक्तृत्वकलाको विकास गर्ने उद्देश्यले जेसीजले तालिम गराएको हो । तानसेनस्थित शीतल फार्ममा भएको तालिममा विभिन्न क्षेत्रका युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो । तालिमको नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी सन्दिप भुसालले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै उनले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले संसदीय अभ्यासले नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै निर्णय प्रक्रियामा सहभागी हुन प्रेरित गर्ने धारणा राखे ।

मुख्य प्रशिक्षक जेसी निशान्त आचार्यले प्रशिक्षण दिएका थिए ।  उनले तालिममा सहभागीहरूलाई संसद सञ्चालन प्रक्रिया, प्रस्ताव प्रस्तुति, छलफल विधि, निर्णय प्रक्रिया तथा संसदीय मर्यादाबारे व्यवहारिक अभ्यास गराएका थिए । उनले संसदीय प्रणालीको महत्वबारे जानकारी गराउँदै सहभागीहरूलाई समूहगत अभ्यास समेत गराएका थिए । तालिममा पाल्पा जेसीजले मातृत्व प्रदान गरेका शाखाहरू गुल्मी जेसीज, गुल्मी रेसुङ्गा जेसीज, पाल्पा रामपुर जेसीज तथा पाल्पा जेसीजलाई मातृत्व प्रदान गरेको (प्यारेन्ट शाखा) सिद्धार्थ जेसीजका करिब एक सय जना युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा पाल्पा जेसीजका पूर्व अध्यक्षहरू शैलेन्द्र भट्टराई, अर्जुन कार्की, अच्युत खनाल र सुनिल बस्याल लगायतले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरे ।  जेसिज पाल्पाका अध्यक्ष  जेसी महेश खनालले युवाहरूलाई जिम्मेवार नेतृत्वतर्फ उन्मुख गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले सहभागीहरूको सक्रियता र उत्साहले कार्यक्रम अझ प्रभावकारी बनेको उल्लेख गरे । अध्यक्ष खनालको अध्यक्षता, कार्यक्रमका संयोजक जेसी सुमन बस्यालको स्वागत, महासचिव जेसी करण चित्रकारको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update