Shittalpati
विश्व शिखरको गौरवगाथा स्मरण

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइएको छ । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ ।

संसारभरिका साहसिक पर्यटक र पर्वतारोहीलाई नेपालतर्फ आकर्षित गर्ने प्रमुख आधार यही हिमाल बनेको छ । यसले नेपालको पर्यटन उद्योगलाई आर्थिक रूपमा मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ । विशेष गरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको जीवनस्तर उकास्न पर्यटनले उल्लेखनीय भूमिका खेलेको छ । तर गौरवसँगै चुनौती पनि बढिरहेका छन् । पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण हिमालहरू तीव्र रूपमा प्रभावित भइरहेका छन् । हिमनदी पग्लिने, हिउँ कम हुँदै जाने तथा वातावरणीय असन्तुलनका असर सगरमाथा क्षेत्रमा स्पष्ट देखिन थालेका छन् । साथै आरोहीहरूको अत्यधिक चाप र फोहोर व्यवस्थापनको समस्या पनि गम्भीर बन्दै गएको छ । विश्वको सर्वोच्च शिखरलाई स्वच्छ र सुरक्षित राख्न राज्य, स्थानीय समुदाय तथा आरोही सबैको साझा जिम्मेवारी आवश्यक छ । सगरमाथा दिवस मनाउनुको वास्तविक अर्थ केवल औपचारिक कार्यक्रम गर्नु होइन  हिमाल संरक्षण, वातावरणीय चेतना र दिगो पर्यटन प्रवद्र्धनमा प्रतिबद्धता जनाउनु पनि हो ।

नेपालले आफ्नो प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटनलाई व्यवस्थित र मर्यादित बनाउन सके मात्र सगरमाथाको गौरव दीर्घकालसम्म कायम रहन सक्छ । सुन्दर हिमाल जोगाउने अहिलेको चुनौती सरकार एक्लैले मात्र थेग्न सक्दैन । नागरिक समाज, निजी क्षेत्र, सामाजिक संघसंस्था, समाजका प्रतिष्ठित संस्था सबैको सहकार्य हुन जरुरी छ । यो मुद्दा कुनै राजनीतिक पार्टी विशेष वा सरकार विशेषको रुचि र प्राथमिकताको विषय मात्रै हुन सक्दैन । यसको प्रत्यक्ष मारमा समाजको सबै वर्ग, समुदाय र क्षेत्र परेको छ । त्यसैले राष्ट्रिय एजेन्डा बनाएर सरकार, राजनीतिक दल, सरोकारवाला निकाय र समाजका सबै तह र तप्काबीच हातेमालो गर्दै यसविरुद्धको लडाइँ लड्न जरुरी छ । यसो गर्न सकियो भने मात्र हरेक वर्ष मनाइने सगरमाथा दिवसको स्मरणले सार्थकता पाउने छ ।

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update