Shittalpati
पाल्पामा सञ्चाालित पत्रकारहरुको लागि डिजिटल क्षमता विकास तालिम सकियो

पाल्पा, जिल्लाको तानसेनमा सञ्चालित पत्रकारहरुको लागि दुई दिने डिजिटल क्षमता विकास तालिम सकिएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना, लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र पत्रकार महासंघ पाल्पा शाखाको व्यवस्थापनमा सञ्चालित तालिम बुधबार सकिएको हो ।

तालिमको नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष झपेन्द्र गहिरेले एक औपचारिक कार्यक्रमकाबिच समापन गरेका हुन्। तालिमको समापन गर्दै गहिरेले तालिममा सिकेका ज्ञान सीपका  कुराहरुलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे । उनले पछिल्लो समय मिडियाहरु धरासय बन्ने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे । पूर्व अध्यक्ष गहिरेले मिडिया बचाउने कुरा चुनौतिको विषय रहेकाले तीनै तहका सरकारले मिडिया प्रर्वद्धन गर्ने दिशामा ध्यान दिनुपर्नेमा जोड दिए । विगतका दिनदेखि परम्परागत रुपमा हुँदै आएको पत्रकारिता अबका दिनमा डिजिटल प्रविधिमा आधारित हुन जरुरी रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँले पत्रकारहरुलाई नयाँ प्रविधिका विषयमा जानकारी गराउनु अहिलेको आवश्यकता रहेकाले पत्रकार महासंघ लुम्बिनी प्रदेशले सबै जिल्लाका पत्रकारहरुलाई डिजिटल प्रविधिका बारेमा तालिम सञ्चालन गर्दै हिडेको बताए । उनले पत्रकारहरुको हकहित र अधिकारका विषय महासंघ प्रतिवद्ध भएर लागेको समेत उल्लेख गरे ।

कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार जगदीश प्रसाद भट्टराईले तालिम अत्यन्त उपयोगी रहेको बताए । उनले यस्ता तालिमहरुले आफुहरु जस्ता पुराना पत्रकारहरुलाई ताजगी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । सहभागी अर्को पत्रकार सविता मरासीनीले तालिमबाट धेरै कुराहरु सिक्ने मौका पाएको भन्दै सिकेका कुराहरुलाई पत्रकारितामा उपयोग गर्ने बताइन् । महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले पत्रकारहरुको आवश्यकतालाई महशुस गरी पाल्पामा तालिम सञ्चालन गर्न सहयोग गरेकोमा प्रदेश समितिलाई आग्रह गरे । तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । तालिममा पाल्पा र गुल्मीका ५० जना पत्रकारहरुको सहभागिता रहेको महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीले जानकारी ।

तालिममा नेपाल प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष चेतन अधिकारीले पत्रकारितामा तथ्याङ्कको प्रयोग, लुम्बिनी प्रदेश संसदिय मामिला पत्रकार समाजका अध्यक्ष घनश्याम गौतमले ३ वटै क्षेत्रको संसदीय पत्रकारीता, बरिष्ठहरु पत्रकार माधव नेपाल र शंकर प्रसाद खनालले डिजिटल पत्रकारिकाताको बारेमा सहजीकरण गरेका थिए । महासंघ प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाइँको अध्यक्षता, सचिव गोविन्द शर्माको सञ्चालनमा समापन कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update