मौसम परिवर्तन प्रकृतिको नियमित प्रक्रिया भए पनि पछिल्ला वर्षहरूमा यसको प्रभाव असामान्य र अप्रत्याशित बन्दै गएको छ । कहिले अत्यधिक वर्षा, कहिले लामो खडेरी, त कहिले हावाहुरी, बाढी, पहिरो र चट्याङजस्ता घटनाले जनजीवन प्रभावित हुने गरेको छ । यस्तो अवस्थामा मौसमको पूर्वानुमानप्रति सचेत हुनु र समयमै आवश्यक सावधानी अपनाउनु अत्यन्त आवश्यक हुन्छ ।
सामान्यतः असोज लागेसँगै वर्षाको क्रम घट्दै जाने र मौसम क्रमशः खुल्दै जाने अपेक्षा गरिन्छ । तर, यसपालि मनसुन सकिने बेला फेरि ठूलो पानी पर्ने संकेत देखिएको छ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली, पश्चिमी वायुमण्डलीय प्रणाली र भारतको उत्तरपश्चिमी क्षेत्रमा मनसुन बाहिरिएसँगै विकसित हुने सुक्खा हावाको सम्भावित अन्तरक्रियाले नेपालमा ठूलो पानी पर्ने सम्भावना देखिएको हो । असोज ८ देखि १२ गतेसम्म मुलुकैभरि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसमय विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले औंल्याएको छ । हो, भारी वर्षा हुने भनेको बाढी र पहिरोको जोखिम निम्तिने हो । मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार मानेर फेरि सतर्क हुनुपर्ने भएको छ । यो केवल एउटा मौसमी सूचना मात्र होइन, पूर्वतयारीका लागि बजेको घण्टी हो भनेर सबैले बुझ्नुपर्छ । विपत् बाजा बजाएर आउँदैन भन्ने आहानलाई आधुनिक विज्ञानले गलत सावित गर्दै गएको छ भने हामीले त्यही विज्ञानको समुचित सदुपयोग गर्नुपर्छ ।
हेलचेक्र्याइँ गर्ने वा सामान्य रूपमा लिने ग¥यौं भने भौतिक धनसम्पत्ति र ज्यानको पनि नोक्सान हुन सक्छ । मौसमसम्बन्धी आधिकारिक सूचना बेवास्ता नगर्ने, हल्ला र अपुष्ट समाचार नफैलाउने, घर तथा आसपासका जोखिमपूर्ण संरचना पहिचान गर्ने र आपत्कालीन अवस्थामा आवश्यक पर्ने सामग्री तयारी अवस्थामा राख्ने जस्ता सामान्य सावधानीले ठूलो क्षति रोक्न सक्छ । प्रकृतिलाई नियन्त्रण गर्न नसकिए पनि जोखिम र क्षति भने कम गर्न सकिन्छ । त्यसका लागि सरकार, स्थानीय तह, सञ्चारमाध्यम र नागरिकबीच प्रभावकारी समन्वय आवश्यक छ । समयमै प्राप्त सूचना, सही तयारी र जिम्मेवार व्यवहार नै मौसमी विपद्बाट जोगिने मुख्य आधार हुन् । त्यसैले मौस मलाई सामान्य रूपमा लिएर बेवास्ता गर्ने होइन, हरेक मौसमसँगै आवश्यक सतर्कता अपनाउने संस्कारको विकास गर्नु आजको आवश्यकता हो ।

