Shittalpati
पाल्पा रारा सहकारीद्वारा महिला उद्यमीलाई अभिमुखीकरण

पाल्पा, जिल्लाको तानसेनमा सञ्चालित पाल्पा रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिला उद्यमीहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका महिला सदस्यहरुलाई समुहगत रुपमा लगानी गर्दै आएको सहकारीले शुक्रबार तानसेनमा अभिमुखीकरण कार्यक्रम गरेको हो ।

महिला उद्यमीहरुलाई वित्तिय योजना निर्माणदेखि आर्थिक रुपमा थप सशक्त बनाउने, नेतृत्व क्षमताको विकास र सहकारीमा महिला सहभागिता सुनिश्चित गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको  सहकारीले जनाएको छ ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पाल्पाका अध्यक्ष जगदीश भट्टराई र सहकारीका अध्यक्ष भीमसेन कार्कीले सहकारीमा महिला सहभागिता, समूहगत नेतृत्वमा महिलाहरुको भूमिका, महिला उद्यमीहरूलाई वित्तीय योजना, उद्यम तथा उद्यमी, व्यवसायका किसिम, लघु उद्यम, उत्पादनमूलक उद्यम, सेवामूलक व्यवसाय, उत्पादन तथा बजार, साधन एवम् स्रोतको पहिचान, सङ्कलन र प्रयोग लगायतका विषयमा सहजिकरण गरेका थिए । उनीहरुले उद्यम सञ्चालन गर्दा पारिवारिक व्यवस्थापनका साथै परिवारको सल्लाहमा व्यवसाय छनौट गरी वित्तीय अनुशासन कायम गर्ने सन्दर्भमा प्रष्ट पार्दै व्यवसायका लागि लिनुपर्ने ऋण, कर्जा, लगायतका विषयमा समेत जानकारी गराएका थिए ।

नेपाल रेडक्रस सोसाईटी पाल्पाका अध्यक्ष बाबुराम कार्कीले अभिमुखीकरणबाट सिकेका ज्ञान, सीपलाई व्यवहारमा कार्यान्वयन गर्न सहभागी उद्यमीहरूलाई आग्रह गरे । उनले पाल्पामा स्थापना गर्न लागिएको ब्लड बैंक स्थापना र त्यसको औचित्यका विषयमा जानकारी गराउँदै अभियानमा साथ दिन सहभागी महिला उद्यमीहरुलाई आग्रह समेत गरे । कार्यक्रममा महिला समुहका अध्यक्ष र सचिवहरुको सहभागिता रहेको थियो । उनीहरुले कार्यक्रममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सहकारीका अध्यक्ष भीमसेन कार्कीको अध्यक्षता , उपाध्यक्ष अरुण कुमार श्रेष्ठको स्वागत, यज्ञप्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा एक सय ५० जना महिला उद्यमीहरुको सहभागिता रहेको सहकारीका व्यवस्थापक प्रकाश रेग्मीले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update