Shittalpati
सभामुखलाई पत्रकार महासंघको चुनौती : ‘पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्नुहोस्’

पाल्पा, पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्न चुनौति दिएको छ । सभामुुख घिमिरेले शुक्रबार पत्रकारहरु बिक्रीमा रहेको अभिव्यक्तिप्रति महासंघले आपत्ति जनाउँदै त्यसको पुष्टि गर्न चुनौति दिएको हो ।

शनिबार महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै सभामुखको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको जनाएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डल बधाई ज्ञापन र संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न नवनिर्वाचित देवराज घिमिरेललाई भेट्न गएको थियो । उक्त क्रममा सभामुख घिमिरेले ‘पत्रकारहरू र संघ बिक्रीमा रहेको’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

महासंघको विज्ञप्तिमा भनिएको छ, ‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ ।’ सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको विज्ञप्तिमा भनिएको छ । सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक आधिकारिक धारणा नआएको समेत महासचिव पुरीले विज्ञप्तीमा भनेका छन् । महासंघले सभामुख घिमिरेलाई आरोप पुष्टि गर्न वा आरोप फिर्ता लिन आग्रहसमेत गरेको छ ।

‘महासंघ जननिर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिबद्ध भएको व्यवहारमा देख्न चाहन्छ । साथै आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाउन सभामुखसमक्ष महासंघ आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । सभामुखबाट अभिव्यक्ति तत्काल फिर्ता नभए कानुनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने महासंघले जनाएको छ ।

                                                     यस्तो छ विज्ञप्ती

 

 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update