Shittalpati
रामसहायप्रसाद यादवको यात्रा : शिक्षक हुँदै उपराष्ट्रपतिसम्म

हाम्रा संवाददाता
पाल्पा, २०२७ साउन ९ गते बारा बसबरियामा जन्मिएका रामसहायप्रसाद यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति बनेका छन् । शिक्षण पेशाबाट राजनीतिमा लागेका यादव शुक्रबार भएको उपराष्ट्रपतिको निर्वाचनमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै निर्वाचित भएका हुन् ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका यादवले ३० हजार ३ सय २८ मतभार प्राप्त गरे । उनले संघीय संसद्तर्फ १४ हजार ५ सय ३६ र प्रदेशसभातर्फ १५ हजार ७ सय ९२ मतभार पाएका छन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६ सय २८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय २८ मतभार प्राप्त गरिन् भने जनमतकी ममता झाले २ हजार ५ सय ३७ मतभार प्राप्त गरिन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदातामध्ये ८ सय २९ जनाले मतदान गरेका थिए ।

स्नातकसम्मको अध्ययन गरेका यादव २०४८ सालमा शिक्षण पेशामा प्रवेश गरेका थिए  । १६ वर्ष शिक्षण पेशामा लागेका उनी २०६४ मा शिक्षक पेसा छोडेर पूर्णकालीन राजनीतिमा होमिएका हुन् । मधेसका नागरिकको अधिकारका लागि संघर्ष गर्दा–गर्दै राजनीतिमा लागेका यादवको राजनीतिक यात्रा नेपाल सद्भावना पार्टीबाट भएको हो । नेपाल सदभावना पार्टीको चौथो महाधिवेशन प्रतिनिधिका रुपमा खटिएका यादव २०५७ सालमा गिरफ्तारीमा परेका थिए । वि.सं. २०५९ मा मधेसी जनअधिकार फोरम, नेपालमा आवद्ध भएका उनी २०६० साल फागुन ७ गते मधेसी जनअधिकार फोरम, नेपाल बाराको संस्थापक संयोजक बने । २०६० सालमा मधेसी जनअधिकार फोरम नेपालको केन्द्रीय सदस्य बनेका उनी २०६२/०६३ को जनआन्दोलमा सक्रिय भएर लागे । आन्दोलनका क्रममा उनी काठमाडौंबाट गिरफ्तार परेका थिए । २०६२/०६३ सालको मधेस जनविद्रोहमा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतृत्वको जिम्मेवारीमा पनि उनले काम गरे । २०६४ सालको पहिलो संविधानसभाको सदस्य निर्वाचित भएका उनी पहिलो संविधानसभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा संवैधानिक निकाय समितिको सदस्यका रुपमा काम गरे । २०७२ साल मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम नेपालको उनी महासचिव बने । उनी वि.सं. २०७४ सालमा प्रतिनिधिसभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । विसं २०७५ सालमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भई गठन भएको समाजवादी पार्टीको महासचिव, वि.सं. २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य बने । २०७८ सालमा वन तथा वातावरण मन्त्री बनेका यादव २०७९ को प्रतिनिधिसभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित बनेका हुन् । यादव सत्ता गठबन्धन दल नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी,राष्ट्रिय जनमोर्चाको समर्थनमा उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । राष्ट्रपतिमा यस अघि सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update