Shittalpati
उपराष्ट्रपतिमा यादव निर्वाचित

पाल्पा, गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यादवले ३० हजार ३ सय २८ मतभार प्राप्त गरे । उनले संघीय संसद्तर्फ १४ हजार ५ सय ३६ र प्रदेशसभातर्फ १५ हजार ७ सय ९२ मतभार पाएका छन् ।
प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६ सय २८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय २८ मतभार प्राप्त गरिन् भने जनमतकी ममता झाले २ हजार ५ सय ३७ मतभार प्राप्त गरिन् । यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदातामध्ये ८ सय २९ जनाले मतदान गरेका थिए । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ छ ।

उपराष्ट्रपतिमा निर्वाचित यादव बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । २०७८ सालमा वन तथा वातावरण मन्त्री बनेका यादव २०७९ को प्रतिनिधिसभामा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update