Shittalpati
रास्वपाको सभापतिमा फेरि रवि लामिछाने

पाल्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा फेरि रवि लामिछाने चयन भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टी केन्द्रीय समितिको बैठकले सभापतिको जिम्मेवारी सुम्पेको हो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्त नगरेको कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो ।

यसअघि नेपालमा नागरिकता लिए पनि अमेरिका गएपछि उतैको नागरिकता लिएर बसेका लामिछाने गैरपर्यटक (नाता) भिसामा नेपाल आएका थिए । त्यसपछि उनी यतै बसे । ०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिएका उनले ०७५ असार १४ गते अमेरिकी नागरिकता त्यागेको जानकारी गराएका थिए । तर‚ नेपाली नागरिकताको पुनः प्राप्तिको प्रक्रिया पूरा गरेका थिएनन् । कानुनबमोजिम त्यसबेला नै अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्ति गर्नुपर्नेमा लामिछानेले त्यो प्रक्रिया पूरा नगरी पुरानो नागरिकता प्रयोग गर्दै आएका थिए । त्यही नागरिकता प्रयोग गरेर उनले गत असारमा राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका थिए भने चितवन–२ बाट चुनाव जितेर सांसद र गृहमन्त्रीसमेत बनेका थिए । तर, उनको नागरिकताको विषयमा सर्वोच्च अदालतमा रिट परेपछि अदालतले लामिछानेले अमेरिकाबाट फर्किएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनी पदमुक्त हुने फैसला गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update