Shittalpati
आजदेखि बालबालिकालाई खोप

पाल्पा, पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि आजदेखि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ । त्यसैगरी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ । खोप लगाउन नजिकैको विद्यालयमा रहेको खोप केन्द्रमा लान मन्त्रालयले आग्रह गरेको छ । दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ पाँच वर्षदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइने छ । यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । खोप एक स्थानीय तहलाई एकै चरणमा सम्पन्न गर्ने गरी गरिने छ । खोप केन्द्रमा कम्तीमा एक जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित संख्याको आधारमा थप स्वास्थ्यकर्मी तथा दुई जना स्वयंसेवक र प्रति २ सय थप लक्षित संख्याको लागि थप एक जना स्वयंसेवक परिचालन गरिनेछ । देशमा ५–११ उमेर समूहका बालबालिका करिब ३९ लाख छन् ।

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update