Shittalpati
विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

पाल्पा, आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ यो वर्ष विश्व रक्तदाता दिवस मनाउन लागिएको हो ।

रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउने गरिन्छ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो । दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मान गर्ने अवसरको रुपमा समेत लिने गरिएको छ । दिवसको अवसरमा विभिन्न सामाजिक संघसंस्थाहरुले सचेतनामुलक कार्यक्रम आयोजना गर्दै छन् । रक्तदाताहरुको सहि व्यवस्थापन नहुँदा नेपालमा पछिल्लो समय विरामीले रगत अभावको समस्या झेल्नुपरिरहेको छ । नेपालका ७७ जिल्लाका १ सय ५ केन्द्र मार्फत रगत वितरण हुँदै आएको छ । हरेक वर्ष चैत अन्तिमबाट असारसम्म रगतको अभाव हुने गरेको तर माग अनुसारको आपूर्ति हुन कठिन हुने गरेको छ । रगत शरिरमा रहेको रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ ।

यसले शरीरका कोषहरुमा ग्लुकोज, एमिनो एसिड लगायतका पोषक तत्वहरुसँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ । यसले कार्वन डाइक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निश्कासन गर्न समेत सहयोग गर्दछ । मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ ।रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ । मानिस जिवित रहनकालागि रगत नभइ नहुने पदार्थका रुपमा रहेको हुन्छ । सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरिरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुको भनाई छ । सामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगी हुने उनीहरुको ठहर छ । रक्तदानबाट मृत्यूको मुखमा पुग्न लागेका विरामीहरुको ज्यान बचाउन मद्दत पुग्दछ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update