Shittalpati
माथागढीमा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको छ । पालिकाले उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रममार्फत प्रोत्साहन गर्न थालेपछि गर्भवती महिलाहरु स्वास्थ्य संस्था जान थालेका हुन् । गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि नै ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम सञ्चालन गरेपछि यहाँका महिलाहरु स्वास्थ्य संस्थामा जान थालेको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यहाँ अहिले सम्म २ सय ४७ जना गर्भवती महिला स्वास्थ्य संस्थामा गई सुत्केरी भएका छन् ।

आर्थिकवर्ष २०७६/०७७ मा ६३ जना, आर्थिक वर्ष २०७७/०७८ मा १ सय १० जना र चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७४ जना भर्गवती महिला स्वास्थ्य संस्थामा गई सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख केश जिसीले बताए । गाउँपालिकामा स्वास्थ्य संस्थामा गई नियिमत गर्भ परीक्षण गराउने महिलाहरुको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म ८ सय ८३ जना महिला नियमित गर्भ परीक्षण गर्न स्वास्थ्य संस्था पुगेको जिसीले बताए । उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ३ सय ३८ जना, आर्थिक वर्ष २०७७/०७८मा ३ सय १८ जना र चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ सय २७ जनाले नियमित गर्भ परीक्षण गराएका छन् । अहिले यहाँका महिलाहरु गर्भ रहेको चार महिनादेखि नै स्वास्थ्य संस्थामा चेकजाँचका लागि पुग्ने गरेका छन् । जसले गर्दा आमा र शिशुको अवस्थालाई स्वस्थ राख्न यो कार्यक्रम प्रभावकारी बन्न पुगेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जिसीले बताए ।

कार्यक्रम प्रभावकारी बन्दै गएपछि आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिइएको उनको भनाई छ । पालिकाले गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा ध्यान पु¥याउने उद्देश्यले ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रम सञ्चालन गर्दै आएको हो । अण्डामा मानिसलाई चाहिने सबै पोषक तत्व पाइने र सबैभन्दा बढी प्रोटिनको स्रोत भएकाले गर्भवती र सुत्केरी अवस्थामा पोषण पर्याप्त भए जन्मने शिशु स्वस्थ जन्मिने भएकाले पनि गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुलाई उपहार स्वरुप अण्डा वितरण गर्दै आएको हो । अण्डा उपहार कार्यक्रमले गर्भवतीलाई नियमित रुपमा स्वास्थ्य संस्थामै आएर नियमित गर्भ परीक्षण गराउने बानीको विकास भएको छ । अज्ञानताका कारण हिजोका दिनहरुमा गर्भवती भई घरमै सुत्केरी हुने महिला दिदीबहिनीहरु हिजोआज भने स्वास्थ्य संस्थामा जाने गरेका छन् । पौष्टिक आहारविहार र परीक्षण नहुँदा आमा र शिशुको ज्यान जोखिममा हुने गथ्यो । तर हिजो आज भने गाउँपालिकाले टोल–टोलमा सचेतना र प्रोत्साहन कार्यक्रम सञ्चालन गरेकाले यस्तो अवस्थामा कमी आएको सरोकारवालाहरु बताउँछन् । गाउँपालिकाले गर्भवती महिलामा गर्भ रहेको सामान्यतया चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्दै आएको छ । त्यस्तै पालिकाले स्वास्थ्य संस्थामा आई सुत्केरी गराएमा २ हजार ५ सय रुपैयाँ प्रोत्साहन रकम समेत दिर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update