Shittalpati
रेडक्रसले दियो पाल्पाका एम्बुलेन्सलाई अक्सिजन सिलिण्डर

कृष्ण पोखरेल

पाल्पा, नेपाल रेडक्रस सोसाईटी पाल्पाले जिल्लामा सञ्चालित एम्बुुलेन्सलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । रेडक्रसले अष्ट्रेलियन  रेडक्रसको सहयोगमा सिविएचएफए कार्यक्रम अन्र्तगत जिल्लाका सबै एम्बुलेन्सहरुका लागि निःशुल्क रुपमा अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो ।

यहाँ सञ्चालित २२ वटा एम्बुलेन्सहरुलाई विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको सहभागितामा अक्सिजन सिलिण्डर वितरण गरिएको छ ।

एम्बुलेन्समा अक्सिजन सिलिण्डर नहुँदा कयौ विरामीहरुको अवस्था गम्भिर भएको र कयौं विरामीहरुले अकालमा ज्यान फाल्नु परेको दुःखद् परिस्थितीलाई मध्यनजर गरी रेडक्रस पाल्पाले जिल्लाभरी चल्ने एम्बुलेन्सहरुलाई अनिवार्य अक्सिजन राख्नुपर्ने व्यवस्था गरी पहिलो चरणमा निःशुल्क सिलिण्डर प्रदान गरेको हो । दम स्वाशप्रश्वास र कोभिडका विरामीका लागि अक्सिजन अमृत बराबर भएकाले विरामीको ज्यान बचाउन ठूलो मद्दत पुग्ने भएकाले एम्बुलेन्स चालकहरुलाई निःशुल्क अक्सिजन सिलिण्डर प्रदान गरिएको रेडक्रसका जिल्ला सभापति बृद्धि प्रसाद शर्माले बताए । एम्बुलेन्स चालकहरुबाटै विरामीहरुको आधा रोग ठिक हुने भएकाले विरामीसँग गर्नुपर्ने व्यवहार बोलीचालीको साथै प्राथमिक उपचार सम्बन्धी तालिम रेडक्रस पाल्पाले प्रदान गरेको सभापति शर्माले बताए । यो अभियानबाट विरामीले अक्सिजन प्रयोग गरेबापत अतिरिक्त शुल्क तिर्न नपर्ने, विरामीलाई एम्बुलेन्स भाडा शुल्क बाहेक अन्य शुल्क नलाग्ने सभापति शर्माले बताए । जिल्लाभरका एम्बुलेन्स चालकहरुलाई एकमुष्ट निःशुल्क अक्सिजन सिलिण्डर प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले अबका दिनमा जिल्लाभर सञ्चालन हुने एम्बुलेन्सले अनिवार्य रुपमा अक्सिजन सिलिण्डर नियमित रुपमा प्रयोग गर्न चालकहरुलाई अनुरोध गरे ।

एम्बुलेन्स भित्र सिलिण्डरको प्रयोग भए नभएको समय सयममा रेडक्रसको सहयोगमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्ने प्रजिअ पाण्डेले बताए । पाल्पामा अहिले जिल्ला अस्पताल, मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज र रामपुर अस्पतालमा अक्सिजन प्लान सञ्चालन भएकाले चालकले आफुलाई पायक पर्ने स्थानमा, चाहेको समयमा खाली सिलिण्डर भर्न सक्ने छन् । जिल्लामा चल्ने सबै एम्बुलेन्सहरुमा अक्सिजन सिलिण्डर थिएनन, रेडक्रसले जिल्लाका सबै एम्बुलेन्सहरुलाई निःशुल्क रुपमा अक्सिजन सहितको सिलिण्डर प्रदान गरेर विरामीहरुको ज्यान बचाउन ठूलो सहयोग गरेको एम्बुलेन्स चालक सुरेस कार्कीले बताए । अबका दिनमा जिल्लाका सबै एम्बुलेन्सहरुमा नियमित रुपमा अक्सिजन सिलिण्डर हुुने कार्कीले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update