Shittalpati
पाल्पामा पुनः निषेधाज्ञा थपियो, पुस्तक पसलहरु दैनिक ४ घण्टा खोल्न पाउने

पाल्पा, पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण कायमै रहेकाले निषेधाज्ञा पुनः असार १२ गतेसम्म लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार विहान बसेको बैंठकले जिल्लामा कोरोना संक्रमणको अवस्था अझै कायमै रहेकाले निषेधाज्ञा थप गरिएको जनाइएको छ ।

यहाँ गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा चौथो पटक थप गरिएको हो । जारी निषेधाज्ञा आज राती १२ बजेदेखि सकिदै थियो । निषेधाज्ञाको समयलाई थप गरेर असार १२ गते राती १२ बजेसम्मलाई लम्वाइएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिए । निषेधाज्ञा थप गरिए पनि केही खुकुलो भने बनाइएको छ ।

बैंठकले शैक्षिक सत्र सुरु भएकाले पाठ्यपुस्तक विक्रीमा सहजीकरण गर्नका लागि दैनिक विहान ७ बजेदेखि ११ बजेसम्मका लागि पुस्तक पसल खोल्न दिने निर्णय गरेको छ । यस्तै बंैठकले यस अघि अत्यावश्यक दैनिक उपभोग्य खाद्य सामग्री दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु दैनिक ३ घण्टा खोल्न दिएकोमा अबदेखि १ घण्टा बढाएर दैनिक ४ घण्टा मात्र खोल्न दिइने छ । योसँगै अब यि पसलहरु ११ बजेसम्म खुल्न पाउने छन् । यस्तै वाणिज्य तथा विकास बैँकका शाखाहरू यस अघि १० बजेसम्म खुल्दै आएकोमा अबदेखि ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ । यस अघि सहकारी,बिमा सस्था लगायतका वित्तिय संस्थाहरु बन्द रहेकोमा अब भने ११ बजेसम्म खोल्न पाउने भएका छन् । यस्तै अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु सञ्चालन हुने छन् । सार्वजनिक यातायात र अन्य पसलहरु भने बन्द नै रहने छन् ।

औषधी तथा अत्यावश्यक सेवाहरु भने २४ घण्टा खुल्ने छन् । निषेधाज्ञा अवधिभर अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ । जसमा एम्वुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुका दाना, दूध, फलफूल, तरकारी, माछा, मासू, पानी,ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्च पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारीहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचय पत्र वाहक सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक पाल्पा जिल्लाभर सञ्चालन हुने यात्रुवाहक, सार्वजनिक तथा निजी सवारी साधनहरुको सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश उल्लंघन गरेमा कैद र जरिवानासमेत गर्ने निर्णय भएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update