Shittalpati
चन्द्र भण्डारी र गगन थापाको पहलमा  स्वास्थ्य चौकीलाई सुरक्षा सामग्री

गुल्मी,नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी र गगन कुमार थापाको पहलमा पठाइएको स्वास्थ्य सामग्रीहरु पौँदी अमराई स्वास्थ्य चौकी मुसिकोटलाई हस्तान्तरण गरिएको छ । नेता भण्डारी र थापाको पहलमा स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर्स, तीन सय पिस सर्जिकल माक्स र पाँच लिटर सेनिटाइजर हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेस र नेपाल विद्यार्थी संघ गुल्मीको आग्रहमा नेताद्वय भण्डारी र थापाले स्वास्थ्य सामग्री पठाउन पहल गरेका हुन् । अक्सिजन कन्सन्ट्रेटर्स नेपाल चिकित्सक संघको सहयोगमा उपलब्ध गराइएको हो । नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी, विष्णु कुमारी सापकोटा, महासमिति सदस्य प्रेमनारायण भण्डारी, महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटा, क्षेत्रीय सभापति भगतसिंह खड्का, नगरसभापति सुदर्शन शाक्य, मालिका गाउँपालिकाका छाया सरकार प्रमुख उपेन्द्र अर्याल, नेता लोकप्रसाद खरेल, तरुण दलका नेताहरु सन्तोष थापा, झबिन्द्र अर्याल, कृष्ण पाण्डे, नेपाल विद्यार्थी संघका जिल्ला कार्यवाहक सभापति राम्जी पन्थी, पूर्व केन्द्रीय सदस्य सुदर्शन खनाल, नेविसंघ जिल्ला उप–सभापति तोमलाल पन्थी लगायतका नेताहरुको उपस्थितिमा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा र १ का वडा अध्यक्ष पूर्ण बहादुर हितानलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

कोरोना भाइरस नियन्त्रणमा नेपाली कांग्रेसले नगरपालिकालाई सहयोग गरेकोमा नगरप्रमुख सोमनाथ सापकोटाले धन्यवाद व्यक्त गरे । उनले सबैको सहयोग यसै गरी पाएमा कोरोना भाइरसलाई परास्त पार्न सक्ने बताए । नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले मुसिकोट नगरपालिका वडा नम्बर १ केही विकट भएको हुदाँ यहाँ अक्सिजन कन्सन्टेटर्स सहयोग गरिएको बताए । कोरोना भाइरस नियन्त्रण गर्न गुल्मी अस्पताल देखी विभिन्न संघ संस्थालाई पार्टीले विगत देखी निरन्तर सहयोग गर्दै आएको उनले बताए । कोरोना भाइरसले गर्दा निषेधाज्ञाको समयमा काम गरेर बिहान–बेलुका छाक टार्नेहरुलाई गाह्रो भएको हुदाँ त्यसतर्फ नगरपालिकाको ध्यान जानुपर्ने समेत उनले उल्लेख गरे । त्यस्तै सचिव विष्णु कुमारी सापकोटाले पार्टीसंगै विद्यार्थीले गरेको सहयोगको प्रशंसा गरिन । नेविसंघका पूर्व केन्द्रिय सदस्य सुर्दशन खनालले नेपाली कांग्रेस प्रतिपक्षमा हुदाँ पनि सरकारलाई कोरोना नियन्त्रण गर्न र जनताको जीवन रक्षा गर्न महत्वपूर्ण सहयोग गरेको बताए । नेविसंघ गुल्मीका कार्यवाहक सभापति राम्जी पन्थीले विगत देखी अहिलेसम्म विभिन्न समयमा नेविसंघले सहयोग गर्दै आएको बताए । त्यस्तै कांग्रेस नेता भण्डारीको पहलमा पठाइएको स्वास्थ्य सामग्री मुसिकोट नगर कार्य समितिका सभापति र त्यहाँका वडा सभापतिहरुलाई पनि हस्तान्तरण गरिएको छ । नेपाली कााँग्रेसका मुसिकोट नगरसभापति सुर्दशन शाक्यले यो विपत्तमा जनताको जीवन रक्षा गर्न स्वास्थ्य सामग्री सहयोग गर्नुहुने नेता भण्डारी र थापालाई धन्यवाद दिए ।

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update