Shittalpati
लुम्बिनीमा पनि आइपुग्यो खोप, देशभर कोरोना विरुद्धको खोप दिइदै

रामचन्द्र रायमाझी
पाल्पा । लुम्बिनी प्रदेशका लागि ८८ हजार खोप बुटवल आइपुगेको छ । लुम्बिनी प्रदेशका ३९ हजार ४ सय ९५ जनाका लागि ८८ हजार ६ सय ९० डोज खोप आइतबार राति बुटवल आइपुगेको हो । सरकारले पठाएको उक्त खोप यस प्रदेशस्थित १२ वटै जिल्लामा मंगलबार पुर्‍याइसकिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशस्थित जिल्ला अस्पताल र ठूला अस्पतालहरुमा अग्रपंक्तीमा बसेर काम गर्दै आएका चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई कोरोना विरुद्धको खोप लगाउने प्रदेश सरकारको तयारी छ ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले प्रदेश मन्त्रालयले १२ वटै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख, मेडिकल सुपरिन्टेन्डेन्ट, खोप अधिकृत र सुपरभाइजरसँग जुममार्फत छलफल गरेर आवश्यक तयारी एवं व्यवस्थापन गरिएको बताए । भारत सरकारको सहयोगमा ल्याइएको खोप पहिलो चरणमा सरकारले आज बुधबारदेखि सुरु गर्दैछ । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे गर्ने खोपको भर्चुअल शुभारम्भ गर्दैछन् । खोपको शुभारम्भ समारोहमा लुम्बिनी प्रदेश सहित सातै प्रदेशमा रहेका ६२ अस्पताल र १ सय २० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ । लुम्बिनी प्रदेश सरकारमा प्राप्त खोपमध्ये रूपन्देहीमा सबैभन्दा धेरै ३३ हजार ४ सय २० डोज छुट्याइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पाल्पाका लागि ५ हजार ४ सय ६०, गुल्मीमा ४ हजार १ सय ८०, अर्घाखाँचीमा ३ हजार ८ सय ५०, बाँकेमा १७ हजार ९०, दाङमा ६ हजार ५ सय ९०, कपिलवस्तुमा ४ हजार ५ सय ४०, प्यूठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६० डोज खोप पठाइएको छ । पश्चिम नवलपरासीमा २ हजार ३ सय ८०, रुकुम पूर्वमा २ हजार ४० र रोल्पामा २ हजार ४ सय २० डोज पठाईको मन्त्रालयले जनाएको छ । खोप लगाउनेहरुको सूचीकरण सम्बन्धित स्थानीय तहहरुले गरिसकेका छन् । पहिलो पटक खोप लगाएका व्यक्तिले १ महिनापछि पुनः लगाउनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने जनाएको छ । सो चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । सरकारले प्रथम चरणको खोप सक्नुभन्दा अगाडि अर्को चरणको खोप लगाउनका लागि खोप ल्याउने तयारी गरेको जनाएको छ । पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update