Shittalpati
पूर्व सांसद रायमाझीलाई कोरोना, थप उपचारका लागि काठमाडौं लगियो

पाल्पा, नेकपाका नेता तथा पूर्व सांसद यादव बहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मिसन अस्पतालमा उपचार गराइ रहेका रायमाझीको पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

गत विहीबार पाल्पामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार रायमाझीलाई थप उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको पारिवारिक स्रोतले जनाएको छ । अहिले उनको काठमाडौंस्थित नेपाली सेनाको छाउनी अस्पतालमा उपचार भइरहेको छ । अहिले रायमाझीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको जनाइएको छ ।

पछिल्लो समय नेकपा भित्र देखिएको फुटका कारण जिल्लामा उत्पन्न समस्या समधानका लागि सक्रिय रहदै आएका बेला रायमाझीलाई कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । पूर्व सांसद रायमाझी पाल्पा क्षेत्र नं ३ बाट वि.स २०५६ मा निर्वाचित भएका थिए । उनी अहिले नेकपाको प्रचण्ड–माधव पक्षमा देखिए पनि सकभर ओली र प्रचण्ड–माधव दुवै समूहलाई मिलाए लैजाने कार्यमा सक्रिय रहदै आएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update