Shittalpati
रेडक्रसका गतिविधि थप प्रभावकारी बनाउँछौ : शर्मा

पाल्पा, नेपाल रेडक्रस शोसाइटी पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्माले रेडक्रसका गतिविधिहरुलाई थप प्रभावकारी बनाएर लैजाने बताएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका ८ फेकमा भएको सिविएचएफए पुनर्ताजगी तालिमको शुक्रबार समापन गर्दै सभापति शर्माले स्थानीयस्तरमै पुगेर रेडक्रसका गतिविधिहरुलाई थप प्रभावकारी बनाउदै लैजाने बताएका हुन् । उनले रेडक्रसका गतिविधिहरुप्रति नागरिकहरुको चासो बढ्दै गएकाले अब स्थानीयस्तरमै पुगी रेडक्रसका गतिविधिहरुलाई अझ शसक्त ढंगले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सभापति शर्माले सामाजिक सेवाका रुपमा आफुहरु सधँै अगाडि बढ्दै आएकाले रेडक्रसका गतिविधिहरुमा स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । उनले तालिममा सिकेका सीप तथा ज्ञानलाई व्यवहारमा प्रयोग गर्न तालिममा सहभागीहरुलाई आग्रह सेमत गरेका छन् । नेरेसो केन्द्रका उपनिर्देशक शिवराम गौतमले परियोजना समुदायमुखी भएको बताए । उनले समुदायका व्यक्तिहरुले साथ दिएर पूर्ण रुपमा सफल भएको बताउँदै समुदायमा आधारित परियोजना समुदायको रहेको र रेडक्रसले सहजीकरण गरेको बताए । कार्यक्रममा शाखाका कोषाध्यक्ष भीमसेन कार्कीले परियोजनाले गरेका गतिविधिहरुलाई दिगोपना दिनका लागि समुदाय नै जीम्मेवारी भएको धारणा व्यक्त गरे । वडा अध्यक्ष नारायणबहादुर लाम्टाङ्गेले परियोजनाले सञ्चालन गरेका हरेक गतिविधिहरु सफल भएको र आगामी दिनहरुमा स्थानीय स्तरबाटै निरन्तरता दिनुपर्ने बताए । कार्यक्रममा शाखाका वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की, प्रशिक्षक राजु राउत लगायतले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न जोड दिए । सिविएचएफए पुनर्ताजगी कार्यक्रम अष्ट्रेलीयन रेडक्रस शोसाइटीको आर्थिक सहयोग, नेरेसो केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस शोसाइटी पाल्पाद्वारा सञ्चालित सामुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य अन्तर्गतको हो । तालिमा प्राथमिक उपचार, सर्ने तथा नसर्ने रोगहरु, प्रजनन स्वास्थ्य, मातृस्वास्थ्य, प्रकोप व्यवस्थापन, नवजात शिशु स्याहार लगायतका विषयहरुमा प्रशिक्षण दिईएको थियो । प्रशिक्षण नेरेसो केन्द्रका कार्यक्रम संयोजक राजु राउत, कार्यक्रम अधिकृत विनोद भारती, फेक स्वास्थ्य चौकीका अनमी रक्षा खड्का र अहेव खीमा रेश्मीले दिएका थिए । तालिममा स्थानीय २५ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update