Shittalpati
‘टन्सिलले बिगारेको मुटु’

रामचन्द्र रायमाझी

पाल्पा । टन्सिलले बिगारेको मुटु’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीद्वारा लिखित पुस्तक हो । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाका संरक्षक, नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रिय महासचिव समेत रहेका प्रा.डा. रेग्मीले लकडाउनको सदुपयोग गर्दै मुटु रोगीहरुका लागि उपयुक्त हुने पुस्तक लेखेका छन् । रेग्मीले जनचेतना अभिवृद्धि गर्ने विरामीको सत्य तथ्य कथा व्यथाहरुलाई किताबमा उल्लेख गरेको पाइन्छ । पुस्तकमा मुटु रोगीका लागि उपचारमा समर्पित व्यक्तित्वहरुको योगदान र इतिहासको लेखाजोखा गर्ने, नेपाल हृदयरोग निवारणको भूमिका र अभियानको सार्वजनिकरण गर्ने र राज्यसँग मुटु स्वास्थ्य सुरक्षाका विषयमा छलफल÷वकालत गर्ने उद्देश्यले पुस्तक तयार पारिएको लेखक रेग्मीले बताए ।

उक्त पुस्तकको शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पा र नेपाल हृदयरोग निवारण प्रतिष्ठान पाल्पाले एक कार्यक्रमको आयोजना गरी समीक्षा एवं अन्र्तक्रिया गरेका छन् । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र पुरुष ढकालले पुस्तक सबैका लागि उपयोगी, पठनीय, संग्रहणीय रहेको,सामाजिक यथार्थता बोलेको बताए ।

समीक्षक डा. रविन्द्र समिरले स्वास्थ्य साहित्यको रुपमा लेखिएको पुस्तक जति पढ्दै गयो त्यति विषयवस्तुको गहिराईमा पुगिने बताए । उनले मनमुटु मस्तिष्कलाई चसक्क बनाउने नेपाली सामाजिक दूर दराजका सत्य तथ्य घटनाक्रम उजागर गर्दै पात्रहरुको पुस्तकमा चारित्रीकरण गरी लेखिएको बताएका छन् । उनले भने ‘ यो रेग्मीले आफ्नो जीवनयात्रामा भोगेको सुखद दुःखदको अनुभव हो । यो पुस्तक नेपालका प्रत्येक विद्यालयमा पुग्नुपर्छ र केही अंश पाठ्यक्रम एंव पाठ्यपुस्तकमै समाविष्ट गराइनु पर्दछ ।’ नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति बुद्धि प्रसाद शर्माले बहुआयामिक व्यक्तित्वका धनी रेग्मीद्वारा लिखित एवं नेपाल हृदयरोग निवारण प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक शिक्षक, विद्यार्थीहरु र साहित्यकार एवं अध्येताहरुको लागि बौद्धिक खुराकको रुपमा रहेको बताए । उनले भने ‘सामकाजिक रुपान्तरणको लागि लेखिएको पुस्तक स्वास्थ्य साहित्यिक उपन्यास जस्तै रहेको छ ।’

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाका महासचिव चन्द्रकान्त न्यौपानेले पुस्तक संस्थाका विषयवस्तु केन्द्रित रहेता पनि साहित्यिक आत्मकथाको रुपमा प्रस्तुत भएको बताए । उनले भने ‘दुर्गम क्षेत्र र पीडित समुदायका बालबालिकाहरु केन्द्रित कथा व्यथाहरु सत्य तथ्य घटनाक्रम आधारित रहेका छन् । स्वास्थ्यकर्मीहरुको समेत अनविज्ञताले गर्दा रोग एउटा छ, उपचार अर्कै भईरहँदा विरामीको अवस्था झन संकटपूर्ण रहेको, सत्य, तथ्य यथार्थ घटनाहरु कथानकको रुपमा रहेकाले उत्कृष्ट साहित्यिक कृतिको रुपमा पुस्तक रहेको छ ।’ साहित्यकार एवं इतिहास विद प्रा.डा. कर्णबहादुर वाँनिया, ई. सुदर्शन भण्डारी राजेश्वर उदय, भुवन श्रेष्ठ, शान्ता शाक्य, अम्बिका पौड्याल लगायतले पुस्तकप्रति चासो व्यक्त गरेका थिए । साहित्यकार पुष्कर अथक रेग्मीले लेखक रेग्मीको पुस्तकभित्र नौ वटा ‘स’ साहित्य, स्वास्थ्य, शिक्षा, सञ्चार, समाज, समर्पण, सम्भावना, समय र शक्ति (सत्यम् शिवम्, सुन्दरम्) ले सुसञ्जित रहेकाले एकपटक सबैले पढ्नै पर्ने र विद्यालय र शिक्षालयहरुमा
पुर्‍याउनु पर्नेमा जोड दिए ।

डा.रेग्मीद्वारा आफ्नो तीन दशक भन्दा लामो समाज सेवाका क्रममा बालबालिकाहरुलाई बाथ–मुटुरोग लाग्नबाट बचाउन र रोग लागेकालाई उपचार गर्न गरेको संघर्ष र अनुभूतिहरु समेटेर पुस्तक तयार पारिएको छ । महत्वपूर्ण जानकारीहरु र सत्य तथ्य इतिहासहरु समेत समेटिएको यो पुस्तक नेपाल वाङ्मयको आकाशमा समेत दस्तावेजको रुपमा रहिरहने सरोकारकारहरु बताउँछन् । पुस्तक पढ्ने र मुटु स्वास्थ्य सुरक्षामा अहोरात्र खटिने व्यक्तित्वहरुले पुस्तकभित्रका निष्कर्षको सारलाई मात्र पनि समुदायमा सुसूचित गर्न गराउन सकेको खण्डमा बाथ मुटुरोग को न्यूनीकरण सघाउ पुग्नेमा नेपाल हृदयरोग निवास प्रतिष्ठान पाल्पाका अध्यक्ष समीरमान सिंहले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update