Shittalpati
मंगलबार थपिए ६ सय ३८ नयाँ संक्रमित, चारको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ जनामा गरेको पिसिआर परीक्षणबाट ६ सय ३८ नयाँ संक्रमित देखिएका हुन् । हालसम्म चार लाख ६२ हजार ६ सय ९८ जनाको पिसिआर परीक्षण भएको जनाइएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मंगलबार उपत्यकामा थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये काठमाडौँका १ सय २१, लतिपुरका १२ र भक्तपुरका ७ संक्रमित रहेका छन् ।

कोभिड–१९ बाट थप चारको मृत्यु

कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले धनुषा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका गरी थप चारको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा धनुषाका ५० र ६० वर्षीय पुरुष रहेका छन् । त्यस्तै काभ्रेका ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष छन् । पछिल्लो २४ घण्टामा १ सय ७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेको छ । मंगलबार देशभर सक्रिय संक्रमितको सख्या ७ हजार २ सय १ रहेको छ । अहिले होम आइसोलेसनमा रहेका बिरामीको संख्या २ सय २४ रहेको छ । आइसियुमा ८५ संक्रमित छन् । यीमध्ये तीन जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । देशभर आइसियु शैया जम्मा ११ हजार ३४ र भेन्टिलेटर जम्मा ५ सय ७६ रहेको मन्त्रालयले जनाएको छ । यसैबीच चौधरी पाउण्डेशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८ भेन्टिलेटर सहयोग प्रदान गरेको मन्त्रालयले जनाएको छ । –रासस

प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update