Shittalpati
कोरोनाबाट थप पाँच जनाको मृत्यु, मृतको संख्या ७० पुग्यो

पाल्पा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । शुक्रबार २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो । नियिमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सिरहा जिल्ला गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी गराए । त्यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा मृत्यु भएको हो ।

उनी मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए । उनलाई साउन १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी मृतकमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुषको साउन २० गते घरमै मुत्यु भएको हो । उनको साउन २१ गते नारायणी अस्पतालको प्रयोगशालामा स्वाब संकलन गर्दा साउन २२ गते कोरोना पुष्टि भएको थियो । सर्लाही जिल्ला बसन्तपुरका ४५ वर्षीय पुरुषको साउन २३ गते उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । गत साउन १९ गते कुकुरले टोकेर अस्पतालमा भर्ना भएका उनलाई रेबिजको शंका गरिएको थियो । उनको स्वाब संकलन गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्प्तालमा मृत्यु भएको हो । उनी मधुमेह, उच्च रक्तचाप तथा मुटुका बिरामी थिए । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार यो संक्रमितमध्ये मृतकको प्रतिशत ०.३ प्रतिशत रहेको छ । विगतका केही दिनमा मृत्युको दर भने बढ्दै गएको छ । मृत्युदर बढ्दै गएकाले सबैलाई सचेत हुन प्रवक्ता गौतमले आग्रह गरेका छन् । त्यस्तै उनका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय २५ जना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८ सय १४ पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update