Shittalpati
हेफरले गर्‍यो तिनाउ गाउँसरकारको कोभिड राहत कोषमा १५ लाख सहयोग

पाल्पा, हेफर ईन्टरनेशनल नेपालले पाल्पाको तिनाउ गाउँ सरकारको कोभिड राहत कोषमा सहयोग गरेको छ । हेफरले सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँ सरकारले स्थापना गरेको राहत कोषमा १५ लाख सहयोग गरेको हो ।

स्थानीय साझेदार संस्था सामाजिक श्रोत विकास केन्द्र नेपालमार्फत हेफरले उक्त रकम सहयोग गरेको गाउँपालिकाले जनाएको छ । उक्त सहयोग रकमको चेक हेफर ईन्टरनेशन नेपालका कार्यक्रम प्रबन्धक अनन्तराज सिलवालले गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती, उपाध्यक्ष दमयन्ती थापा, प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरण गर्दै प्रवन्धक सिलवालले कोभिड १९ को महामारीबाट आक्रान्त बनेको अवस्थामा पालिकामार्फत सञ्चालन गरिएका राहतका कार्यक्रममा साझेदारी गर्न हेफरले सहयोग गरेको बताए । उनले सानो सहयोगले कोरोना रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण टेवा पुग्नेमा आफु विश्वस्त रहेको धारणा व्यक्त गरे । प्रबन्धक सिलवालले कोरोना महामारीको यो अवस्थामा पाल्पा जिल्लाका १० वटै स्थानीय सरकारहरुलाई प्राथमिकताको आधारमा राहत स्वरुप १ करोड ४९ लाख सहयोग गर्ने बताए । सुरुवातमा तिनाउ गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण गरिएको उनको भनाई छ । महामारीको समयमा घरमै सुरक्षित बस्न र अत्यावश्यक काममा बाहिर जानै पर्ने भएका सुरक्षाका सबै मापदण्डपालना गर्न समेत सिलवालले आमनागरिकहरुलाई आग्रह गरे ।

रकमको चेक ग्रणह गर्दै गाउँपालिका अध्यक्ष घर्तीले हेफरले गाउँपालिकाप्रति देखाएको सहयोग र सद्भाव अत्यन्त प्रशंसनिय रहेको भन्दै धन्यवाद दिए । उनले हेफरबाटप्राप्त सहयोग रकम कोरोना विपद् व्यवस्थापनमा खर्चिने बताए । गाउँपालिकाका प्रमुख प्रशासकीयअधिकृत श्रेष्ठले महामारी नियन्त्रणमा गाउँपालिकालाई एक्लै हम्मे हम्मे परेका बेला हेफरले गरेको सहयोग महत्वपूर्ण रहने बताए । सामाजिक श्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलालगिरीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत हेफरले राहत रकम सहयोग गरेको बताए । कार्यक्रम संयोजक शिव न्यौपानेको सञ्चालनमा राहात सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update