Shittalpati
उच्च मूल्यमा पुगेको सुन बुधबार स्थिर

पाल्पा, नेपाली बजारमा लगातार उकालो लागेको सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उच्च मूल्यमा पुगेको सुन बुधबार स्थिर रहेको हो ।

अघिल्लो दिन कायम मूल्यमै बुधबार सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव न्यून रहेपछि नेपाली बजारमा मूल्य स्थिर राखिएको महासंघले जनाएको छ । चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७ सय ५० रुपैयाँ रहेको चाँदी घटेर १ हजार ७ सय १५ रुपैयाँमा झरेको छ । सुनको भाउले यतिबेला विश्व बजार नै तातेको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ ।

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । नेपालमा हाल दैनिक २० किलो सुन आयात गर्न सक्ने व्यवस्था छ । वैदेशिक रोजगारमा रहेकाले ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था छ । सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्न जान्छ । विदेशी मुद्रा सञ्चिति घटेका बेला यसले नकारात्मक असर पार्न सक्छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update