Shittalpati
हेपाटाइटिस दिवसको सन्दर्भ

आज जुलाई २८, अर्थात विश्व हेपाटाइटिस दिवस । हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा.बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइन्छ । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्छ । अन्य मौसमभन्दा वर्षातको समयमा बढी देखा पर्छ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्सभन्दा पनि खतरनाक मानिन्छ । हेपाटाइटिसबाट मर्नेको संख्या एड्सबाट मर्नेको संख्या भन्दा १० गुणा बढी छ । मानव शरीरमा कलेजो महत्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । समयमा ध्यान नपुर्याउने हो भने यसले विकराल रूप लिने निश्चित देखिन्छ । अहिले यस चुनौतीसँग जुध्न धेरै राष्ट्रले सक्रिय रुपमा लागेका छन् ।

हेपाटाइटिस सी विरुद्ध अति प्रभावकारी औषधी डीएए (डाइरेक्टली एक्टिङ एन्टिभाइरल) न्यूनतम मूल्यमा उपलब्ध भएलगत्तै धेरै विकासोन्मुख राष्ट्रले पनि हेपाटाइटिस सी निर्मूल गर्ने जमर्को गरेका हुन् । तर नेपालजस्तो विकासोन्मुख राष्ट्रमा हेपाटाइटिस उन्मूलन सजिलो पक्कै छैन । जबसम्म हेपाटाइटिस रोग सम्बन्धी राष्ट्रियस्तरमा कुनै नीति बन्दैन र सरकारी निकायबाट प्रभावकारी कार्यक्रम सुरु हुँदैन, तबसम्म हेपाटाइटिसको उन्मूलन लगभग असम्भव नै देखिन्छ । नेपालमा हेपाटाइटिस लागेका आधाभन्दा बढी व्यक्तिलाई आफू संक्रमित भएको हेक्का नै छैन । कुनै कारणवश रगत परीक्षण गर्दा हेपाटाइटिस लागेको थाहा भइहाले पनि समाजमा व्याप्त नकारात्मक दृष्टिकोणले गर्दा धेरै बिरामी आफ्नो रोग लुकाउन बाध्य छन् । धेरै बिरामीहरूमा हेपाटाइटिस बी र सीको उपचार सम्भव छ भन्ने समेत जानकारी नै छैन, जुन आजका दिनमा साह्रै दुर्भाग्यको विषय हो । केही वर्षदेखि विश्व हेपाटाइटिस एलायन्स र विश्व स्वास्थ्य संगठनले २०३० भित्र हेपाटाइटिस निर्मूलीकरणको लक्ष्य लिएका छन् । यो लक्ष्यलाई सार्थक पार्ने हो भने हरेक व्यक्ति यसबारे सचेत हुनै पर्दछ । साथै हेपाटाइटिस परीक्षण र संक्रमित भए–देखिएमा यसको उपचारमा लाग्न पनि उत्तिकै जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update