Shittalpati
पृथ्वी दिवस र हाम्रो दायित्व

आज अप्रिल २२ तारिख विश्व पृथ्वी दिवस संसारभर मनाइँदै छ । सन् १९७० मा पहिलो पटक पृथ्वी दिवस मनाइएको थियो । सन् १९९० देखि यो दिवसलाई वार्षिक रुपमा मनाइदै आइएको छ । नेपालसहित विश्वका १ सय ९२ वटा मुलुकले यो दिवस मनाउन थालेका छन् । पृथ्वी दिवसको मुख्य उद्देश्य वातावरण संरक्षण गर्नेमा केन्द्रित छ । यो दिवस मनाउनुको अर्को उद्देश्य मानिसहरुलाई वातावरण संरक्षणमा लगाउनु पनि हो । करिव ६ अर्ब मानिससँगै रहेका करौडौं प्रजातिका वनस्पति, लाखौँ उभयचर, चराचुरुङी, घ्रर्सने जनावर, एक कोषीयदेखि बहुकोषी जीवहरुको साझा बासस्थान हो, पृथ्वी । ब्रम्हाण्डमा जीवन्तु अरु कहि छ त पृथ्वीमा छ । त्यसैले यो आफैँमा महत्व छ । तर पृथ्वीमाथि मानिसको अव्यवस्थित दोहनले यो चपेटामा परेको छ । औद्योगिक विकासको अस्वस्थ होडबाजीले जल, जंगल, जमिन र जीवजन्तुलाई नकारात्मक असर पर्दै गएको छ । अहिले जमिन मरुभूमीकरण बन्दै गएको, समुद्रको सतह बढ्दै गएको, हिमालको हिउँ पग्लिरहेको, आगलागी, वन विनाश जस्ता घटनाले पृथ्वी संकटमा छ । मानव क्रियाकलापकै कारण यो संकटतर्फ धकेलिँदै छ । 

पछिल्लो समय पृथ्वीको १.१ डिग्री तापक्रम वृद्धिले ‘हिटवेभ’, खडेरी, बाढी, हुरी, आँधीका समस्या देखा परिरहेका छन् । पृथ्वीको बढ्दो तापक्रमले वातावरण बिगार्न निकै भूमिका खेलेको छ । अहिले संसारभरि नै डढेलो चुनौतीपूर्ण बन्दै गइरहेको छ । पृथ्वीको विनाश हुनु भनेको मानव लगायत सम्पूर्ण प्राणी जगतको विनाश हुनु हो । जथाभावी रुख विरुवा काटिनाले नदीनालाको छेउ किनारबाट बालुवा, ढुंगा, गिट्टी उत्खनन् गरिनाले, जथाभावी गाउँ–गाउँमा मोटरबाटो र डोजर आतंक गरिनाले अव्यवस्थित रुपमा बस्ती बस्नाले, अधिकमात्रामा थोत्रा सवारीसाधनको प्रयोग, अस्वस्थ्य औद्योगिकिकरण आदिले गर्दा पृथ्वी विनास हुँदै गएको छ । यसप्रति सबैले चिन्तन गर्नु आवश्यक छ । पृथ्वी बचाउन जलवायु परिवर्तनको असर कम गर्न मानिसले व्यवहार परिवर्तन गर्न आवश्यक देखिन्छ । यसको सुरुवातका लागि जंगल क्षेत्र बढाउने र दिगो विकासका लागि वैकल्पिक उपायको खोजी गरिनुपर्छ । हरेक वर्ष पृथ्वी दिवस मनाइन्छ । तर, दिवस एकदिने दिवसका रुपमै सिमित रहनाले र मानिसहरुले गहिरिएर नसोचिदिनाले, दिनप्रतिदिन पृथ्वीको दोहन भइरहेको छ । पृथ्वीको संरक्षण गर्ने मानिसको दायित्व हो । यो दायित्वबाट मानिस उम्कन मिल्दैन । यसर्थ हाम्रो उन्नति, प्रगति र सन्ततिको उज्ज्वल भविष्यका लागि पृथ्वीको बचाउ गर्नु र यसको वातावरण संरक्षण गर्नु हामी मानव जातिको कर्तव्य र दायित्व हो ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update