Shittalpati
हेपाटाइटिसको उपचार र रोकथाम

हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर विश्व हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदै छ । विश्वभर हेपाटाइटिसको भार कम गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा यो दिवस मनाइने गरिन्छ । विश्व स्वास्थ संगठनका अनुसार विश्वभर ३२ करोडभन्दा बढी मानिसहरु हेपाटाइटिस बी र सी संक्रमित छन् । विश्वभर हेपाटाइटिस बी का कारण उत्पन्न हुने जटिल स्वास्थ समस्याले गर्दा बार्षिक ९ लाख बढी मानिसहरुको मृत्यु हुने गरेको छ । विश्वका अधिकांश देशका सरकारले सन् २०३० सम्म आफ्नो देशलाई हेपाटाइटिसमुक्त गराइसक्ने लक्ष्य लिएका छन् । तर त्यो लक्ष्य प्राप्ति गर्नेमा भने शंका उत्पन्न भएको छ । हरेक वर्ष मनाइने दिवसले औपचारिकता मात्र निर्वाह गर्ने भएकाले लक्ष्य प्राप्तिमा शंका उत्पन्न भएको हो ।

नेपाल लगायत साना मुलुकहरुमा हेपाटाइटिस चुनौती पूर्ण बन्दै गएको छ । कलेजो सुन्निनुलाई हेपाटाइटिस भनिन्छ । यो अवस्था आफैं सीमित भएर जान पनि सक्छ । कतिपय अवस्थामा बढ्दै गएर कलेजोमा दाग लाग्ने, सिरोसिस हुने वा कलेजोको क्यान्सरमा समेत परिणत हुन सक्छ । हेपाटाइटिस गराउने मुख्य कारण हेपाटाइटिस भाइरसहरु हुन् । भाइरसले कलेजोको कोषहरुमा संक्रमण गरेपछि शरीरको इम्युनिटी क्षमता सक्रिय गराएर कोषको क्षति गर्ने गर्दछ । यस्तो अवस्थामा भाइरसको प्रजनन रोक्न औषधिहरु प्रयोग गर्न सकिन्छ, । तर औषधि चिकित्सकको सल्लाहबेगर आफूखुशी प्रयोग गर्नुहुन्न । हेपाटाइटिस ए र बीको रोकथामका लागि खोप उपलब्ध छ । मांसपेशीमा लगाइने यी खोपको अवधि र मात्रा मिलाएर सानै उमेरमा लगाउनुपर्छ । एको लागि २ पटक खोप लगाउनुपर्ने हुन सक्छ । ए र ई दूषित पानी र खानाबाट सर्ने हुनाले सरसफाइमा ध्यान दिने, सफा पानी पिउने तथा फोहोरको उचित व्यवस्थापन गर्नु अत्यावश्यक छ । बी र सीको निमित्त रगत चलाउनुअघि राम्ररी परीक्षण गर्नुपर्दछ । सानो उमेरमा अनिवार्य खोप लगाउने र सधैँ सफासुग्घर गर्ने बानी बसाल्न सके यो रोग नियन्त्रण गर्न सकिन्छ । रोग लागिहालेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी उचित परामर्श तथा उपचारको बाटो समेत अपनाउनुपर्दछ ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update