Shittalpati
मगर दिवसको सार्थकता

फागुन १५ गतेलाई आदिवासी मगर जनजातिले आफ्नो सामाजिक, धार्मिक, साँस्कृतिक, सांगठनिक तथा राजनीतिक चार्डको रुपमा मनाउने गर्दछन् । विश्वभरिका सम्पूर्ण मगरहरुको ऐक्यबद्धतालाई संस्थागत स्वरुप प्रदान गर्न र सम्पूर्ण मगरहरुको हक अधिकारलाई सुनिश्चितता प्रदान गर्न वि.सं. २०३९ साल फागुन १५ गते नेपाल मगर संघको स्थापना भएको हो । हरेक वर्ष विश्वभरी छरिएका मगरहरुले अत्यन्त हर्ष, उल्लास, उमङ्ग र जोशका साथ मगर दिवस धुमधामले मनाउने चलन छ । ५२ प्रतिशत मगर समुदाय रहेको पाल्पामा मगर दिवसका अवसरमा आज स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् । १५ गते अर्थात् आज ३८ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा जिल्लाका स्थानीय सरकारहरुले विदा दिने निर्णय गरेका छन् । पुरानो आदिवासी समुदाय मध्येको एक मगर समुदाय हो ।

नेपालको एकिकरणको बेलादेखि अहिलेको अवस्थासम्म देश निर्माणमा मगरहरुको ठूलो योगदान र बलिदान रहेको इतिहासमा उल्लेख छ । मगरहरुलाई वीर धर्तीपुत्रहरुको नाममा चिनिने गरिन्छ । परापूर्वकालदेखि मगर समुदाय भाषा, संस्कृति, पहिरन र परम्परामा निकै धनी छन् । मगरहरुको ऐतिहासिक महत्वलाई कायम गर्न मगर–आदिवासीको सम्झनामा प्रत्येक वर्ष राष्ट्रिय मगर दिवस हर्ष, उत्साह, उल्लास र उमंगका साथ मनाइन्छ । मगर आदिवासी समुदायका मानिसहरु आफ्नो समुदायको राजनैतिक, सामाजिक धार्मिक एवं संस्कृतिक उत्थान र विकासका लागि विभिन्न कार्यक्रमहरु राजनैतिक तहदेखि सरकारी तहसम्ममा गरी मनाउने गरे पनि पछिल्लो समयमा यो परम्परा विस्तारै हराउँदै जान थालेको आभास हुन थालेको छ । दिवसलाई औपचारिकता दिनका लागि मात्र दिवस मनाइनुले कुनै अर्थ राख्दैन ।

दिवसका दिन सम्पूर्ण संघ संस्थाहरुले विगतका वर्षहरुमा मगर समुदायको सामाजिक, आर्थिक, शैक्षिक, साँस्कृतिक तथा राजनैतिक उत्थान एवं विकासका लागि के–कस्तो भूमिका खेली आएको छ सो सम्बन्धमा समीक्षा गर्ने र मगर समुदायको हक हित र अधिकारको के कसरी सुरक्षा गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल र बहस हुन जरुरी छ । यसर्थ दिवसले मगरहरुमा एकता, संगठन, आपसी मेलमिलाप, भाईचारा तथा एक्यवद्धता कायम गर्न सके मात्र दिवस मनाउनुको सार्थकता रहन्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update