Shittalpati
निष्पक्ष छानविन गर

संघीय संरचना निर्माणपछि मुलुकले बहुमत प्राप्त सरकार पाएको छ । विगतमा विभिन्न राजनीतिक दलहरुबाट निर्माण भएका सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकिरहेका बेला बहुमत प्राप्त सरकारबाट जनताले धेरै अपेक्षा गरेका थिए र गर्नु पनि स्वाभाविक नै थियो । वर्तमान सरकारले जनताको अपेक्षा अनुरुप काम गर्नु पर्नेमा एक पछि अर्को गर्दै सरकारकै मन्त्री र उच्चपदस्त व्यक्तिहरु गैरजिम्मेवार काममा लागेका विषयहरु बाहिर आईरहदा सरकार प्रति जनताको आशा मरेको छ । केही समय अघि पूर्व सभामुख कृष्णबहादुर महरा प्रकरणको विषय सेलाउन नपाउँदै पुनः सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बास्कोटाको कमिसन काण्डले सर्वोत्र स्थान पाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अति विश्वासपात्र बाँस्कोटा कमिसन काण्डमा मुछिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका सम्बन्धमा बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएसँगै नेपाली सञ्चारमाध्यम र पत्रकारलाई हेप्दै आएका बाँस्कोटा आफैले लोप्पो खाएका छन् । बास्कोटाको कमिसन प्रकरणले वर्तमान मन्त्रिपरिषद्लाई नराम्ररी गिज्याएको छ भने प्रधानमन्त्री ओलीले ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न र भ्रष्टाचारीको मुख हेर्दिन’ भन्ने भनाइलाई पटाक्षेप गरेको छ । मन्त्रीजस्तो सम्मानित पदमा आसिन व्यक्तिबाट आपत्तिजनक शब्द सहितको अडियो सार्वजनिक हुनु आफैमा लज्जाको विषय हो ।

जनताको नाममा राजनीति गर्ने भनिएकाबाट गरिब जनताले तिरेको करमा र्‍याल काड्न मरिहत्ते गर्नु ठूलो बेइमानी पनि हो । कमिसन माग गरिएको अडियो सार्वजनिक भएको २४ घण्टाभित्रै नैतिकताका आधारमा बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिए पनि त्यत्तिले हुँदैन । उनको सत्य तथ्य छानविन गर्नुपर्छ । वर्तमान सरकारले सफलताको स्वघोषित पगरी गुथे पनि सरकारका मन्त्रीको भनाई र गराइमा कति भिन्नता रहेछ भन्ने वास्तविकता पनि जनताले दृष्टान्तसहित मूल्यांकन गरेका छन् ।

प्रकरणमा मुछिँदा राजीनामा दिएकै भरमा उनले उन्मूक्ति पाऊलान् कि ? सरकारको छाया बनेको आरोप खेपिरहेको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसद्को लेखा समितिले छानविन गरी कारबाहीको दायरामा ल्याउला ? यतिबेला गम्भीर विषय उठेको छ । कुनै काण्डमा मुछिएपछि बर्खास्त गर्नुको साटो पुरस्कृत गर्ने प्रवृत्तिको पुनरावृत्ति नहोस् । यो प्रकरणले प्रधानमन्त्रीकै साखमा दाग लगाएको हुँदा निष्पक्ष छानविन गरी कारबाही गर्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update