Shittalpati
संक्रमणको भयावह स्थिति

नेपालमा कोरोना संक्रमणको स्थिति भयावह बन्दै गएको छ । नयाँ संक्रमितहरुको संख्या तीव्र रुपमा बढ्ने क्रम जारी रहेको छ । कोरोना भाइरसका कारण नेपालका ७ सय भन्दा बढीले अकालमा मृत्युवरण गरेका छन् । १ लाख २९ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । यो क्रम जारी छ र नियन्त्रणको आशा भने देखिएको छैन । पछिल्ला दिनमा काठमाडौं लगायत देशका विभिन्न शहरहरुमा संक्रमण अत्याधिक रुपमा बढ्दै गएको छ । दिनहुँ दुई हजार भन्दा बढी संक्रमित थपिएका छन् । कोरोना संक्रमितले उपचारका लागि अस्पतालमा शैया पाउन धौँ–धौँ छ । महामारी नियन्त्रण होला भन्ने आशमा बसेका सर्वसाधारण झन बढी त्रसित बनेका छन् । दसैँ, तिहार जस्ता महान चाडपर्वहरु आइरहेका बेला कोरोना महामारीको अवस्था भयाबह बन्दै गएपछि आमनागरिक चिन्तित बनेका छन् ।

महामारी नियन्त्रणका लागि गरिएको ३ महिना लामो लकडाउन, त्यसपछि गरिएको खुकुलोपना र फेरि गरिएको आंशिक लकडाउनको अवधिमा महामारी नियन्त्रणका लागि साेंचपूर्ण र वैज्ञानिक तयारी नगरेका कारण यो झन् व्यापक हुँदै गएको हो । संक्रमण बढ्दै गएका बेला आइसोलेशन सुविधा सहितको शैया थप्नुपर्नेमा त्यसो हुन सकेन । सघन उपचार कक्ष र भेन्टिलेटरको अभाव भएका समाचार दिनहुँ आइरहेका छन् । केन्द्रदेखि प्रदेश र स्थानीय तहमा समेत सुविधाजनक बहुमतसहितको यो सरकार महामारी नियन्त्रणका हिसाबले अल्पमतको जस्तो देखिएको छ जसले कुनै ठोस निर्णय लिन सकेको छैन । सरकार अकर्मण्य बनेको छ ? जनस्वास्थ्यको यत्रो ठूलो संकटमा पनि सरकारको यो लाचारीपन आश्चर्यजनक छ । भाइरसको यो विस्तार कहिलेसम्म हुने हो, कुन विन्दुमा पुगेर नियन्त्रण होला भन्ने उत्तर कसैसँग छैन । यो अत्यन्तै खतरनाक अवस्था हो । चाडवाडको याम र नजिकिँदो हिउँदले स्थिति झन नियन्त्रण बाहिर जान सक्ने अवस्था छ । यसर्थ यो अवस्थामा सरकारले महामारी नियन्त्रणका लागि ठोस निर्णय बनाउन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update