Shittalpati
बजार अनुगमन गर

लकडाउनको फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि भएको छ । लकडाउनका कारण सामानको ढुवानी खर्च बढेको भन्दै व्यवसायीहरूले मनोमानी रुपमा दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि गरेका छन् । खाद्यान्न मौज्दात पर्याप्त भएकाले मूल्य नबढेको सरकारले दावी गरे पनि बजारमा भने उपभोग्य वस्तुको मूल्य अकाशिनु दुःखद् हो । स्थानीय प्रशासन, घरेलु कार्यालय, खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालय, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, स्थानीय तहको हकमा उप–प्रमुख तथा उपाध्याक्षको नेतृत्वमा नियमित रुपमा बजार अनुगमन गर्ने कानुनी प्रावधान भएपनि त्यसको बेवास्ता भएको छ ।

विपद्का बेला जनतालाई सहज र सुलभ रुपमा उपभोग्य वस्तुहरुको व्यवस्था गर्नु पर्नेमा सम्बन्धित निकाय मौन बस्नु आम उपभोक्ता माथि नै थप पीडा थप्नु हो । उपभोग्य वस्तु पहिलेको जस्तो सर्वसुलभ रूपमा पाइन पनि छाडेको छ । धेरैजसो व्यापारीले खाद्य तथा दैनिक रूपमा चाहिने अन्य सामान लुकाई कृत्रिम अभाव सिर्जना गरेका छन् । यसै कारणले बजारमा रहेका सामानको भाउ पनि उल्लेख्य रूपमा वृद्धि भएको छ ।

यसलाई नियन्त्रण गर्न सरकारले कुनै चासो देखाएको छैन । नेपाली जनता कोरोना भाइरस (कोभिड–१९)बाट भन्दा पनि अहिले दैनिक उपभोग्य सामान नपाइनु र पाइए पनि महंगो मूल्यमा खरिद गर्नु पर्दा चिन्तित बनेका छन् । लकडाउनको फाइदा उठाउँदै पाल्पाका व्यापारीहरुले विभिन्न बहानामा दैनिक उपभोग्य वस्तुमा ढाडै सेक्ने गरी मूल्य वृद्वि गरेका छन् । बजार अनुगमन तथा नियमन गर्ने निकायले आफ्नो जिम्मेवारी पुरा नगरेको कारण व्यापारीहरुले उपभोग्य वस्तुमा दसदेखि बीस प्रतिशतसम्म मूल्य वुद्धि गरेका छन् । विगतमा भारतले नाकाबन्दी गर्दा र भूकम्प जाँदा जुन कठिनाई भोग्नुपरेको थियो, सोही अवस्था आउने बेला भइसकेको आम जनताले महशुस गरेका छन् । केही दिन सरकारले वास्ता नगर्ने हो भने यस्तै अवस्थाको सिर्जना हुने निश्चित छ ।

त्यसैले सरकारले अब कडा कदम चाल्नु नै पर्ने भएको छ । मुलुकमा कुनै एउटा समस्या देखापर्दा लुट्न पल्केकाहरूलाई खोजी–खोजी कारवाही गर्ने बेला यही हो । तसर्थ सम्बन्धित निकायले सामान लुकाउने तथा महँगोमा बेच्नेलाई बढी मात्रामा निगरानी बढाई निरन्तर अनुगमन गर्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update