Shittalpati
पाल्पामा पनि मनाइयो ‘क्रिसमस डे’

पाल्पा, क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायले आइतबार पाल्पासहित देशभर ‘क्रिसमस डे’ विभिन्न कार्यक्रम गरी मनाएका छन् । पाल्पामा रहेका विभिन्न चर्चलेहरु आ–आफ्नै तवरले उक्त पर्व मनाएका हुन् । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित जिल्लाका चर्चमा प्रार्थना लगायत सामान्य कार्यक्रम गरी मनाइएको चर्चहरुले जनाएका छन् ।

विगतमा कोभिडका कारण सामन्य रुपमा मनाइए पनि यसपटक भने भव्य रुपमा मनाइएको हो । आइतबार बिहानैदेखि जिल्लाका विभिन्न ठाउँमा रहेका चर्चहरुमा भेला भएर क्रिस्चियन धर्मावलम्बीले क्रिसमस डे मनाएका हुन् । क्रिसमसका उपलक्ष्यमा जिल्लाका विलिर्भस चर्च, तानसेन चर्च र हेब्रोन चर्च लगायतका सयभन्दा बढी चर्चहरुमा परमेश्वरको वचन, भजन, प्रवचन र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएको भन्ने मान्यता रहेको छ । येशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले यसको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा यस दिनलाई मनाउने गरिएको हो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महोत्सवका रूपमा मनाउन थालिएको हो । यस दिन सबैलाई सार्वजनिक बिदा दिइएको थियो । हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको जनाइएको छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update