Shittalpati
सबै किसिमका बिरामीको उपचार गर्न मन्त्री ढकालको निर्देशन

काठमाडौँ, (रासस) :स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई आज मन्त्रालयमा आमन्त्रण गरी सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ । मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन न्याम्सका उपकुलपति डा देवनारायण साहलगायतलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भइसकेको बताउनुभयो ।

उहाँले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मन्त्री ढकाले अहिले नेपालको हकमा समुदायमा फैलावट नभएको स्थितिमा कोरोना भाइरसबाहेकका अन्य रोगका बिरामीले नियमित उपचार पाउन निर्देशन दिनुभयो । प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाई कुनै पनि किसिमको असुविधा हुन नदिने जनाएका थिए । वीर अस्पतालका कार्यकारी निर्देशक डा केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारे जानकारी दिँदै आगामी सोमबारबाट कोरोनाको नमूना परीक्षणसमेत हुने बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update