Shittalpati
क्षयरोग निवारण संस्था पाल्पाको वार्षिक साधारणसभा

तानसेन, नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले ३८ औँ वार्षिक साधारणसभा मनाएको छ । शाखाले ‘हामी सबैको प्रतिबद्धता, क्षयरोग नियन्त्रणमा सफलता’ भन्ने यस वर्षको नारासहित  वार्षिक साधारण सभा मनाएको हो ।

सभाको  प्रमुख अतिथि  तथा सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले उद्घाटन गरेका थिए ।   सभाको उद्घाटन गर्दै पन्थीले स्वास्थ्य क्षेत्रमा संस्थाले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । कार्यक्रममा संस्थाकी केन्द्रीय उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष शोभा शाक्य, तानसेन नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुनीलकुमार बस्याल, संस्थाका पूर्व कोषाध्यक्ष त्रिरत्न शाक्य, उद्योग वाणिज्य संघकी उपाध्यक्ष रञ्जना अर्याल, मिसन अस्पतालका निर्देशक डा. रचेल कारख, नेपाल नेत्रज्योति संघका अध्यक्ष बुद्धिप्रसाद शर्मा, लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव कृष्णप्रसाद पराजुली, टोल संस्थाका विजयप्रकाश आले र संस्थाका आजीवन सदस्य तारा रसाली लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

साधारणसभामा संस्थाका कोषाध्यक्ष सरोजलाल शाक्यले करिब ११ लाख ३४ हजार रुपैयाँ बराबरको आर्थिक कारोबार समेटिएको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा संस्थाको विकास, विस्तार तथा सामाजिक सेवामा महत्वपूर्ण योगदान पु¥याउनुहुने पूर्व पदाधिकारीहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा तानसेन नगरपालिका वडा नं. १ भित्र क्रियाशील विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष विधानप्रसाद श्रेष्ठको अध्यक्षता, संस्थाकी उपाध्यक्ष सुलोचना शाहको स्वागत, सचिव झपेन्द्र गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो । –जयराम सापकोटोबाट 

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update